'दा भिन्चीको चित्रकला' ४५ करोड डलरमा विक्री

  • 16 नोभेम्बर 2017
लियोनार्दो दा भिन्ची, चित्रकला तस्वीर कपीराइट Binita Dahal

लियोनार्दो दा भिन्चीले बनाएको ठानिएको क्राइस्टको पाँच सय वर्ष पुरानो एउटा चित्रकला न्यूयोर्कमा ४५ करोड डलरमा विक्री भएको छ।

उक्त चित्रकलाको नाम 'स्यालभेटर मुण्डी' (सेभिएर अफ द वर्ल्ड) हो।

कुनै पनि कलालाई दिइएको यो हालसम्मकै उच्च लिलामी मूल्य हो।

विक्रीको घोषणा हुँदा न्यूयोर्कस्थित क्रिष्टीको लिलामी कोठामा मानिसहरूले ताली बजाएका थिए र खुशी व्यक्त गरेका थिए।

लिलामी मूल्य

लियोनार्दो दा भिन्चीको मृत्यु सन् १५१९ मा भएको थियो र उनका २० भन्दा कम चित्रकला अस्तित्वमा छन्।

तीमध्ये स्यालभेटर मुण्डी नामक चित्रकला सन् १५०५ मा बनाइएको ठानिएको छ।

उक्त चित्रकलाका लागि अन्तिम मूल्य ४० करोड डलर तोकिएको थियो।

परिचय नखुलेका ग्राहक २० मिनेटसम्म चलेको लिलाम बढाबढमा टेलिफोनमार्फत् सहभागी भएका थिए।

चित्रकलामा क्राइस्टको एउटा हात उठेको र अर्को हातले सिसाको गोलाकार वस्तु समातेको देखिन्छ।

तस्वीर कपीराइट AFP

विक्री

सन् १९५८ मा उक्त चित्रकला लण्डनमा ६० डलरमा विक्री भएको थियो।

त्यसबेलासम्म सो चित्रकला लियोनार्दो स्वयंको नभइ उनका एकजना अनुयायीले बनाएको ठानिन्थ्यो।

बीबीसीका कला संवाददाता भिन्सेन्ट डाउड अझै पनि विश्वव्यापी रुपमा उक्त चित्रका चित्रकारका रुपमा लियोनार्दोलाई नस्वीकारिएको बताउँछन्।

चार वर्षअघि उक्त चित्रकलालाई एकजना रुसी नागरिकले १२ करोड ७५ लाख डलरमा किनेका थिए।

तर त्यो लिलामी नभइ एउटा निजी विक्री थियो।