‘प्रचारमा बालबालिकाको प्रयोग रोकियोस्’

  • 18 नोभेम्बर 2017
आयोग

चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग नरोकिएको भन्दै निर्वाचन आयोगले राजनीतिक दलका साथै खासगरी विद्यालय तथा शिक्षकहरुलाई जिम्मेवार बन्न आह्वान गरेको छ।

त्यसका लागि उसले शिक्षा मन्त्रालय, विभाग र कार्यालयका एवं निजी तथा सरकारी विद्यालयका व्यवस्थापकहरुलाई आवश्यक कारबाही गर्न भनेको छ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा बालबालिकाको प्रयोग भइरहेको भन्दै राष्ट्रिय मानव अघिकार आयोगले ध्यानाकर्षण गराएका बेला निर्वाचन आयोगले शिक्षा सम्बद्ध निकायको ध्यानाकर्षण गराएको हो।

राजनीतिक दलहरुको आग्रहमा विद्यालय बन्द गर्ने, विद्यालय परिसरमा आमसभा गर्न अनुमति दिने र भीड बढाउन विद्यार्थीलाई जबरजस्ती लैजान दिने जस्ता आचारसंहिता उल्लंघनका थुप्रै घटना भएको निर्वाचन आयोगले जनाएको छ।

निरुत्साहित

पटक-पटक ध्यानाकर्षण गराए पनि जुलुस, आमसभा, र्‍याली तथा राजनीतिक भेला जस्ता चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग नरोकिएको भन्दै आयोग एक्लैले केही गर्न नसक्ने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताएका छन्।

तर त्यसलाई निरुत्साहित गर्न शिक्षासम्बन्धी सरकारी निकायहरु नै मौन जस्तो देखिएको यादवले बताए।

उनले भने, "कुनै राजनीतिक दलको आग्रहमा विद्यालय किन खाली गर्नुपर्‍यो, हामी किन घण्टी बजाएर छुट्टी दिन्छौँ? त्यो शिक्षा विभागले वा शिक्षा कार्यालयले सम्बन्धित प्रधानाध्यापकसँग स्पष्टीकरण माग गर्नुपर्ने हो कि होइन? प्रधानाध्यापकसँग स्पष्टीकरण सोधिदिनुस् त विद्यालय शान्त हुन्छ।"

निर्वाचन आयोगले बालबालिकाको प्रयोगसम्बन्धी आएका उजुरीविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको बताएको छ।

मूकदर्शक

तर हालसालै सम्पन्न स्थानीय तहको निर्वाचनको प्रचारको बेला भएका सोही प्रकृतिका आचारसंहिता उल्लंघनकै घटनामा समेत आयोग मूकदर्शक बनेको कतिपयको आरोप छ।

स्थानीय तहको निर्वाचनपछि राजनीतिक दलबाट आएका प्रतिबद्धता र हाल जारी रहेका प्रशिक्षणका कारणले आसन्न निर्वाचनमा बालबालिकाको प्रयोगमा कमी आउने केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बताए।

तस्वीर कपीराइट .

उनले भने, "रोकथाममूलक ढङ्गले बालबालिकाको प्रयोगविरुद्ध काम गरिरहेका छौँ। अब यो हिसाबले बालबालिकाको प्रयोगमा केही कमी आउला भन्ने अपेक्षा गरेका छौँ। विद्यालय, शिक्षक र स्वयं अभिभावकहरु पनि सचेत हुनु जरुरी छ जसले गर्दा दलगत स्वार्थका निम्ति बालबालिकाहरु प्रयोग नहोऊन्।"

तर विगतमा त्यस्तै दलीय प्रतिवद्धता भए पनि स्थानीय निर्वाचनमा झण्डै साढे ६ हजार बालबालिकाको प्रयोग भएको केन्द्रीय बालकल्याण समितिले जनाएको छ।

जसमध्ये नेपाली कांग्रेसबाट ३० प्रतिशत, माओवादी केन्द्रबाट २७ प्रतिशत र एमालेबाट २६ प्रतिशत बालबालिकाको प्रयोग भएको उसले बताएको छ।