'आकस्मिक हृदयाघात'बाट प्रकाशको निधन

  • 19 नोभेम्बर 2017
प्रकाश दाहाल

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका एक मात्र छोरा प्रकाश दाहालको निधन भएको काठमाण्डूस्थित नर्भिक अस्पतालका डा. जेपी जयसवालले औपचारिक पुष्टि गरेका छन्।

डाक्टर जयसवालले पत्रकारहरुलाई जानकारी दिँदै दाहालको निधन "आकस्मिक हृदयाघातका कारण" भएको हुनसक्ने बताएका छन्।

दाहाललाई बिहान ५ बजेर ५० मिनेटमा अस्पताल पुर्याइएको र त्यसको दुई-तीन घण्टाअघि नै उनको मृत्यु भएको देखिएको अस्पतालले जनाएको छ।

यसअघि प्रकाशलाई अस्पताल पुर्‍याइएको खबरपछि चुनावी सभाका लागि झापामा रहेका प्रचण्ड हेलिकप्टरमार्फत आइतवार बिहान काठमाण्डू आएका थिए।

को थिए प्रकाश दाहाल?

प्रचण्ड अस्पतालमा

अस्वस्थ रहेको भनिएकी श्रीमती सीतालाई भेट्न पहिला लाजिम्पाटस्थित निवासमा पुगेका प्रचण्ड त्यसपछि नर्भिक अस्पताल पुगेका थिए।

काठमाण्डूस्थित नर्भिक अस्पतालमा रहेका हाम्रा संवाददाता कमल परियारका अनुसार अस्पतालमा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु पुगेका छन्।

यसैगरी भरतपुर महानगरपालिकाकी मेयर समेत रहेकी प्रकाशकी दिदी रेणु दाहाल पनि हेलिकप्टरमार्फत नै काठमाण्डू आएकी थिइन्।

आसन्न चुनावका लागि कञ्चनपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेकी प्रकाशकी पत्नी बिना मगर बिहानैको उडानमार्फत काठमाण्डू आएर अस्पताल पुगेकी थिइन्।

श्रद्धाञ्जली

प्रकाशको आइतवारै दिउँसो ४ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टीका नेताहरुले बताएका छन्।

त्यसअघि उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि काठमाण्डूस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिने जनाइएको छ।

प्रकाश आफ्ना बुवा प्रचण्डका स्वकीय सचिव थिए।

उनका दुई श्रीमती र दुई छोरा छन्।