'हिंसाको बहानामा' चुनाव नसार्न चेतावनी

  • 21 नोभेम्बर 2017
ओली

चुनाव नजिकिंदै गर्दा उम्मेदवार लक्षित जस्तो देखिने आक्रमणमा कमी नआएको भन्दै वाम गठवन्धनका एक शीर्षस्थ नेताले चुनाव सार्ने योजनामा सरकार लागेको हुनसक्ने आरोप लगाएका छन्।

चितवनमा मंगलबार आयोजित वाम गठवन्धनको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले त्यस्तो आरोप लगाउँदै चुनाव कुनै हालतमा सर्न नसक्ने टिप्पणी गरे।

सरकारले भने पछिल्ला केही दिनमा सुरक्षा निकायहरुलाई चुनावविरोधी गतिविधि नियन्त्रणका लागि कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएको छ।

तर प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति सुरक्षा कायम गर्न नसकेको ओलीले आरोप लगाए।

शंका

उनले भने, "बम विस्फोट भइरहेका छन्। आफ्नै पार्टीका नेताको गाडीसमेत विस्फोटमा परेर पल्टिएको छ। तैपनि प्रधानमन्त्री सुरक्षा व्यवस्था सबै ठीकै छ भन्दै हुनुहुन्छ"।

निर्वाचन नजिकिंदै जाँदा उम्मेदवारहरुमाथि देशको विभिन्न स्थानमा बम आक्रमणको घटना बढ्दै जानुले शान्ति सुरक्षाको अवस्थामाथि प्रश्न उठेको उनले बताए।

यसैलाई बहाना बनाएर चुनाव सार्ने योजना बनाइएको हुनसक्ने आरोप लगाउँदै ओलीले भने, "शान्ति सुरक्षा कायम गर्न नसकिने यो कुनै युद्धकाल त होइन। यसभित्र के (रहस्य) छ?"

"कतै यस्तै असुरक्षाको विषय देखाएर चुनाव सार्न खोजेको त होइन? कसैले त्यस्तो सोच राखेको हो भने अब चुनाव कसैले रोकेर रोकिंदैन।"

निर्देशन

उक्त सभामा पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि उपस्थित थिए।

तर उनले सभालाई सम्बोधन गरेनन्।

चुनावी सुरक्षा व्यवस्थालाई लिएर आलोचना भएपछि सरकारले कडा रुपमा प्रस्तुत हुन सुरक्षा निकायहरुलाई यसअघि निर्देशन दिइसकेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार चारवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर शान्ति सुरक्षामा खलल पुर्याउनेविरुद्ध कठोर रुपमा प्रस्तुत हुन निर्देशन दिएका थिए।

सम्बन्धित सामग्री