मुगाबेविरुद्ध महाभियोगको प्रक्रिया शुरु

  • 21 नोभेम्बर 2017
मुगाबे तस्वीर कपीराइट EPA/The Herald

जिम्बाब्वेको संसदले सेनाले सत्ता नियन्त्रणमा लिएपछि पनि पदबाट राजीनामा दिन नमानेका राष्ट्रपति रोबर्ट मुगाबेविरुद्ध महाभियोगको प्रक्रिया शुरु गरिएको छ।

दुवै सदनका सदस्यहरु अट्ने गरी संसदको बैठक एउटा होटलको सम्मेलन कक्षमा गरिंदै छ।

ती कदमको समर्थनमा संसद भवनअगाडि भीड जम्मा भएको छ।

मुगाबेले डाकेको मन्त्रिपरिषद् बैठकमा अधिकांश मन्त्री अनुपस्थित रहे।

आह्वान

मुगाबेमाथि आफ्नी श्रीमतीलाई असंवैधानिक ढंगले शक्ति हडप्न दिएको आरोप लगाइएको छ।

अज्ञातस्थलबाट बोल्दै मंगलबार जिम्बाब्वेका पूर्व उपराष्ट्रपति एमरसन मनाङगाग्वाले राष्ट्रपति मुगाबेलाई तत्काल राजीनामा गर्न भनेका छन्।

मनाङगाग्वालाई पदबाट हटाइएपछि गत साता सेनाले सत्ता नियन्त्रणमा लिएको थियो। मनाङगाग्वाले आफूविरुद्ध हत्याको षडयन्त्र भएका कारण दुई साता अगाडि आफूले देश छाडेको बताएका छन्।

आफ्नो सुरक्षाबारे आश्वस्त नभएसम्म नफर्कने उनले बताएका छन्।

विश्लेषण

हरारेस्थित बीबीसी सम्वाददाता एन्ड्र्यु हार्डिंग भन्छन्, मनाङगाग्वाले लगभग राष्ट्रपति मुगाबेमाथि आफ्नो हत्या गर्न खोजेको आरोप लगाएका छन्।

उनको वक्तव्यले गत साता सेनाले हस्तक्षेप गर्नु अगाडि जिम्बाब्वेमा चर्किएको सत्ता संघर्षको एक झलक दिएको हार्डिंग बताउँछन्।

यसै महिनाको शुरुमा पदबाट हटाइएपछि मनाङगाग्वालाई उनका सुरक्षाकर्मीले उनको प्राण लिने षडयन्त्र भएको जानकारी दिएको उनले बताएका छन्।

त्यसपछि तत्काल उनी दक्षिण अफ्रिका पुगे।

सोमबार राती जिम्बाब्वेका सेनाका जर्नेलहरुले मनाङगाग्वा देश फर्कन राजी भएको बताएका थिए।

सम्बन्धित सामग्री