म्लाडिच मानवता विरोधी अपराधमा दोषी ठहर

  • 22 नोभेम्बर 2017
र्‍याट्को म्लाडिच तस्वीर कपीराइट Reuters

पूर्व बोज्नियाली सर्ब सैन्य कमाण्डर र्‍याट्को म्लाडिचले सन् १९९० को दशकको शुरुवातमा स्रेब्रेनिट्सामा भएको द्वन्द्वका क्रममा त्यहाँ रहेका हजारौँ बोज्नियाली मुसलमानहरुको आम नरसंहार मच्चाउने मनशाय राखेकोमा पूर्व युगोस्लाभियाका लागि अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणले दोषी पाएको छ।

उनलाई सन् १९९५ मा स्रेब्रेनिट्सामा सात हजारभन्दा धेरै पुरुष तथा किशोरहरुको हत्यामा दोषी ठहर गरिएको छ भने अन्य नगरहरुमा भएका घटनामा दोषी ठहर गरिएको छैन।

स्रेब्रेनिट्सा आम नरसंहार र अन्य अपराधहरु गरेकोमा दोषी पाइएपछि उनलाई आजीवन कारावासको सजाय सुनाइएको छ।

म्लाडिचले सन् १९९५ मा भएको स्रेब्रेनिट्सा आम नरसंहार काण्डमा र सारायेभो शहर माथि भएको आक्रमणका क्रममा सेनाको नेतृत्व सम्हालेका थिए।

सुनुवाई

उनीमाथि लागेका ११ वटा अभियोगहरुमध्ये १० वटामा नेदरल्याण्ड्सको हेगस्थित सो अदालतले दोषी ठहर गरेको थियो।

सारायेभो शहरमाथि गोलाबारी गर्न व्यक्तिगत रुपमा उनैले निर्देशन दिएको पाइएको सो अदालतले बताएको छ।

७४ वर्षीय म्लाडिच फैसला पढेर सुनाइँदा अदालतको सुनुवाई कक्षमा थिएनन्। चर्काचर्की गरेको भन्दै उनलाई त्यहाँबाट हटाइएको थियो।

आफ्नो रक्तचापका कारण अदालती सुनुवाई रोक्न उनले गरेको आग्रह न्यायाधीशहरुले अस्वीकार गरेका थिए।

सन् २०१२ देखि हेगस्थित सो अदालतमा उनीमाथि लागेका अभियोगहरु बारेको सुनुवाई भइरहेको थियो।

स्रेब्रेनिट्सामा भएको आम नरसंहारमा सात हजारभन्दा बढी मारिएका थिए भने सारायेभोमाथिको आक्रमणमा दश हजारभन्दा बढी मानिस मारिएका थिए।

सन् १९९५ मा युद्धको अन्त्य भएपछि उनी लुकेका थिए।

अन्ततः सन् २०११ मा उत्तरी सर्बियाको विकट क्षेत्रमा रहेको एकजना आफन्तको घरबाट उनलाई पक्राउ गरिएको थियो।