तरकारीको मूल्य नियन्त्रण 'नगरेको' गुनासो

  • 22 नोभेम्बर 2017
तरकारी मूल्य आकासियो

केही सातायता अचानक आकाशिएको तरकारीको भाउले मारमा परेका उपभोक्ताहरुले त्यसको नियन्त्रणका लागि कोही अघि नसरेको गुनासो गरेका छन्।

अझ बिचौलियाको चलखेलका कारण खेतमा पसिना बगाउने किसान पनि ठगिएको र उपभोक्ता पनि मारमा परेको भन्दै उनीहरु थप उदास भएका छन्।

सरकारी अधिकारीहरुले चाहिं बजारले निर्धारण गर्ने मूल्य घटबढलाई नियन्त्रण गर्ने उपाय आफूहरुसंग नभएको बताएका छन्।

गुनासो

बिहान बेलुकानै भान्सामा चाहिने आवश्यक तरकारीको भाउ केही सातायता दोब्बर भन्दा बढी पुगेको धुम्बाराही निवासी ५५ वर्षीय बटुप्रसाद लम्सालले बताए।

उनले भने, "पानी समेत किनेर खान पर्ने ठाउँमा १० रुपियाँको सागलाई सय रुपियाँभन्दा बढी तिर्न परेपछि कसरी बाँच्ने? यसको नियन्त्रण सरकारले गर्न पर्ने त हो, तर गर्दैन के गर्ने?"

किसानको उत्पादन किनेर व्यापारीकहाँ पुर्‍याउने बिचौलिया भनिनेहरुको चलखेलले तरकारीको भाउ आकाशिएको सरकारले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा जनाइएको छ।

मकवानपुर, धादिङ्, पाँचखाल लगायत राजधानी वरिपरि तरकारीका लागि प्रख्यात ठाउँमा गरिएका स्थलगत अध्ययनले बिचौलियाहरुले ५ तहसम्म हस्तक्षेप गरेका कारण तरकारीको भाउ आकाशिएको देखाएको छ।

महंगो

किसानले न्यूनतम मूल्यमा तरकारी बिक्री गर्ने गरेको तर बिचमा रहेका अनेक व्यापारीले नाफा लिने गरेकोले उपभोक्ता कहाँसम्म आइपुग्दा तरकारीको भाउ दशौं गुणा महंगो भएको अध्ययनमा देखिएको थियो।

यसरी बेला बेलामा उपभोक्ताको ढाड सेक्ने गरी महंगो हुने तरकारीको मूल्यको अनुगमन गर्ने बाहेक अन्य विकल्प नभएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अध्यक्ष काशीराज दाहालले बताए।

उनले भने, "अहिले सरकारले तरकारीको मूल्य निर्धारण गर्ने कुनै कानूनी व्यवस्था छैन। हाल बजारले तरकारीको मूल्य निर्धारण गरिरहेको छ। यो मूल्य वृद्धि भएको कुरा आएपछि यसलाई नियन्त्रण गर्न केन्द्रिय अनुगमन भइरहेको छ।"

तरकारीलाई लामो समय सुरक्षित भण्डारण गरिराख्ने क्षमता नहुँदा सम्म किसानहरुसंग मोलमलाइ गर्ने क्षमता विकास हुन नसक्ने बताइन्छ।

त्यस्तै किसानलाई बिउ, मल आदि आवश्यक सामग्री खरिद गर्न बिचौलिया व्यापारीलेनै ऋण दिइरहेको हालको अवस्थामा सरकारी निकाय चुस्त नहुँदासम्म उनीहरुको हालीमुहाली रहिरहने कतिपय जानकारहरुको भनाइ छ।

सम्बन्धित सामग्री