प्रदेश नं. ६ मा मुख्यमन्त्रीको दौड

  • 23 नोभेम्बर 2017
जुम्ला

निर्वाचनको मिति नजिकिदै जाँदा यसपटक प्रदेशसभा गठन र मुख्यमन्त्रीको दौड पनि मतदातामाझ निकै चर्चित विषय बनेको छ।

पहिलो चरणमै मतदान हुन लागेको प्रदेश नम्बर ६ मा मुख्यमन्त्रीको दावी गर्ने नेताहरुको संख्या कम्तीमा पाँचजना पुगेको छ।

केन्द्रीय स्तरमा मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका उनीहरुले पार्टी नेतृत्वको आश्वासनका कारण यसपटक प्रदेशसभाको निर्वाचनमा उम्मेदवार भएको बताउने गरेका छन्।

समृद्धि

तस्वीर कपीराइट RAJAN RAWAT
Image caption काँग्रेसका शाहीले कर्णाली प्रदेश देशकै नमुना प्रदेश हुनसक्ने बताए

प्रमुख तीन दलका ती सबै जसो नेताहरुले प्रचार प्रसारका क्रममा प्रदेशको समृद्धिलाई चुनावको एजेन्डा बनाएका छन्।

हिमाली र पहाडी जिल्लाहरु मात्रै रहेको प्रदेश नम्बर ६ मा प्रतिनिधिसभातर्फ १२ र प्रदेशसभातर्फ २४ सिट रहेका छन्।

यो प्रदेशमा केन्द्रीय स्तरको राजनीतिमा स्थापित मानिएका नेताहरु पनि प्रदेशसभा निर्वाचनका उम्मेदवार बने पछि चुनाव झनै रोचक बनेको छ।

हाल विनाविभागीय मन्त्री रहेका माओवादी नेता महेन्द्रबहादुर शाही, सञ्चार राज्यमन्त्री एवम् कांग्रेस नेता तप्तबहादुर विष्ट तथा पूर्वमन्त्रीहरु जीवनबहादुर शाही र यमलाल कँडेल आआफ्नो गृह जिल्लाबाट प्रदेशसभामा उम्मेदवार बनेका छन्।

सञ्चार राज्यमन्त्री विष्ट बाहेक सबैले आफू मुख्यमन्त्री बन्नका लागि प्रदेशसभामा उम्मेदवार भएको बताउने गरेका छन्।

उनीहरुका अतिरिक्त एमालेभित्र प्रभाव राख्ने नेताका रुपमा चिनिने प्रकाश ज्वाला र माओवादी केन्द्रका नेता नरेश भण्डारी पनि त्यो सूचीमा देखिएका छन्।

एजेन्डा

Image caption विना विभागीय मन्त्री शाही गृह जिल्लाबाट प्रदेशसभामा उम्मेदवार बनेका छन्

उनीहरुले अहिले आफ्नो प्रचारप्रसारका बेला समग्र प्रदेशको विकासलाई मुख्य एजेन्डाको रुपमा अघि सारेका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं हुम्ला 'ख' का उम्मेदवार जीवनबहादुर शाहीले भने, "कर्णाली प्रदेश देशकै नमुना प्रदेश हुनसक्छ। जडीबुटी, जल, जंगल, ती कुराहरुलाई प्राथमिकतामा राखेर मैले आफ्नो उम्मेदवारी दिएको छु।"

सुर्खेत २ को 'क' बाट प्रदेश सभामा उम्मेदवारी दिएका नेकपा एमाले नेता यमलाल कँडेलले सडक, कृषि, विद्युत र पर्यटनलाई प्रदेशको मुख्य एजेण्डा बनाएको बताए।

प्रदेश बाँडफाँटमा तुलनात्मक रुपमा यो प्रदेशमा माओवादीको बलियो उपस्थिति रहेको ठानिन्छ।

यदि उनीहरुले अपेक्षा गरेजस्तै मत आए वाम गठबन्धनले माओवादीलाई नै यो प्रदेशको जिम्मा लगाउन सक्ने धेरै सम्भावना देखिए पनि एमालेका कँडेलले आफ्नो बलियो दावेदारी प्रस्तुत गर्दै आएका छन्।

सम्भावना

तस्वीर कपीराइट SUSHIL KHADKA
Image caption एमाले नेता कँडेलले सडक, कृषि, विद्युत र पर्यटनलाई मुख्य एजेण्डा बनाएको बताए

प्रदेश नं ६ का सम्भावनाहरुबारे बोल्दै उनले भने, "प्रत्येक जिल्लामा पर्यटन क्षेत्रका हिसाबले पर्याप्त पूर्वाधार विकास गर्न सकिन्छ। जडीबुटीको संरक्षण गर्दै यहाँको जीवनस्तर माथि उठाउनका निम्त‌ि विकास गर्नुपर्ने हुन्छ।"

विना विभागीय मन्त्रीसमेत रहेका माओवादी केन्द्रबाट कालिकोटको प्रदेश 'ख'बाट उम्मेदवारी दिएका महेन्द्रबहादुर शाहीको योजना पनि अरु जस्तै मिल्दाजुल्दा छन्।

आफ्ना प्राथमिकताहरुबारे चर्चा गर्दै उनले भने, "एक नम्बर त सडक हो। दोश्रोमा जलविद्युत र तेश्रोमा शिक्षालाई नै मुख्य ध्यान दिन जरुरी छ।"

सबैले मुख्यमन्त्रीका लागि आफ्नो दावेदारी पेश गरे पनि निर्वाचन जित्नै पर्ने पहिलो चुनौती उनीहरुका सामु रहेको छ।

त्यस्तै निर्वाचन जिते पनि दलले जिम्मेवारी दिने वा नदिने र आफ्नो पार्टीले यो प्रदेशमा बहुमत ल्याउने/नल्याउने जस्ता धेरै विषयको छिनोफानो हुन भने बाँकी नै रहेको छ।

सम्बन्धित सामग्री