'संविधान स्वीकार्य बनाउन संशोधन आवश्यक'

  • 23 नोभेम्बर 2017
राजपा-नेपालका नेताहरु

प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बिहीवार सार्वजनिक गरेको घोषणापत्रमा संविधानलाई स्वीकार्य बनाउनका लागि संशोधनका आवश्यक रहेको र त्यसका लागि आफ्नो दललाई मत दिनु पर्नेमा जोड दिएको छ।

महोत्तरी जिल्लाको जलेश्वरमा सार्वजनिक गरिएको घोषणापत्रमा आसन्न चुनाव जारीसंघर्षको एउटा कडी भनिएको छ। १५-बुँदे प्रतिबद्धतामा उसले तराई विकासका कुराहरु पनि समेटेको छ।

राजपा-नेपालले सार्वजनिक गरेको घोषणापत्रमा संविधान स्वीकार्य हुने स्थितिमा नरहेकोले संशोधनका लागि आफ्नो दललाई मत दिन आग्रह गरिएको छ।

उसले चुनावलाई पनि आन्दोलनको महत्वपूर्ण कडी भनेको छ।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको चुनाव क्षेत्र जलेश्वरमा आयोजित घोषणा पत्र सार्वजनिक समारोहमा अध्यक्ष मण्डलका ६ जना सदस्य मध्ये ठाकुर र राजेन्द्र महतो मात्र उपस्थित थिए।

'संशोधन'

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सडकदेखि सदनसम्म संघर्ष गरी उठाइएका आफ्ना मागलाई चुनावमार्फत् संविधानमा समावेश गराइने बताए।

उनले भने, "मूल आधार मधेसकै मुद्दा स्थापित गर्ने हो। मधेसको पहिचान, स्वाभिमान र अधिकार स्थापित गर्ने हो। संविधानमा आवश्यक सशोधन गरेर मधेका मुद्दा संशोधन गर्ने हो।"

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमा लोकतान्त्रिक मान्यता फरक भएपनि संविधान संशोधनका सवालमा उनीहरु एकै रहेको आरोप उनले लगाए।

घोषणापत्रमा उल्लेख नभएपनि तराईका विभिन्न आन्दोलनका शहीदका परिवारलाई ५० लाख दिइने नेता महतोले बताए।

घोषणापत्रमा संघीय समाजवादी पार्टीको चर्चा गरिएको छैन।

'अवसरवादी'

राजपाले वाम गठबन्धनलाई कम्युनिष्टहरुको "अवसरवादी मिलन" भनेको छ।

५६ पृष्ठ लामो घोषणापत्रमा जनकपुरलाई अन्तराष्ट्रिय पर्यटन स्थल एवं विश्व हिन्दु केन्द्र, वीरगञ्जलाई देशको आर्थिक कारोबार र व्यापारको प्रमुख केन्द्र बनाइने भनिएको छ।

राजपा-नेपालले अस्थिर राजनीति, असमावेशी राज्य संयन्त्र, असक्षम नेतृत्व,असंवेदनशील र सुस्त कर्मचारीतन्त्र, भ्रष्टाचारलाई प्रमुख राष्ट्रिय चुनौतीमा राखेको छ।

साझा राष्ट्रियता हुन नसकेको उल्लेख गरिएको घोषणापत्रमा देश एउटै भएपनि देशभित्र कैयौं राष्ट्रहरु हुन सक्ने भन्दै उदाहरण सहित प्रष्टिकरण दिइएको छ।

सम्बन्धित सामग्री