एक करोड डलर मूल्य तोकिएका नेता रिहा

पाकिस्तान

तस्बिर स्रोत, AFP/GETTY IMAGES

अमेरिकाले एक करोड डलर मूल्य इनाम घोषणा गरेका पाकिस्तानका एक जना उच्च इस्लामवादी नेता हाफिज सइद अदालतको आदेशपछि नजरबन्दबाट मुक्त भएका छन्।

संयुक्त राज्य अमेरिका र भारतले ९ वर्षअघि १ सय ६० जना भन्दा बढी मारिने गरी भारतको मुम्बइ शहरमा भएका श्रृखंलाबद्ध आक्रमण सहितका उग्रवादी गतिविधिको योजना बुनेको आरोप सइदमाथि लगाउँदै आएका छन्।

उनले नेतृत्व गरेको एउटा प्रतिबन्धित संस्था जमात उद दावाले उनको रिहाई लगत्तै एउटा भिडियो सार्वजनिक गरेको छ जसमा सइदले भारतले लगाएको आरोप गलत भएको बताएका छन्।

उनले भारत प्रशासित कश्मिरको स्वतन्त्रताका लागि पाकिस्तानी नागरिकहरुलाई साथ दिने प्रतिबद्धता पनि जनाएका छन्।

नजरबन्द

यसै हप्ता पाकिस्तानी अदालतले सइद सार्वजनिक सुरक्षाका लागि जोखिम रहेको भन्ने सरकारी तर्कलाई अस्वीकार गर्दै उनलाई रिहा गर्न आदेश दिएको थियो।

मुम्बइमा सन् २००८ मा बन्दुकधारीहरुले गराएका योजनाबद्ध आक्रमणमा १६० जना भन्दा बढीको मृत्यु भएको थियो।

तस्बिर स्रोत, Getty Images

सो हमलामा आफ्नो संलग्नता नरहेको उनले बताउने गरेका छन्।

ती धार्मिक नेतालाई उत्तरपूर्वी पाकिस्तामा अवस्थित लहोरमा बिहीबार साँझ रिहा गरिएको थियो।

रिहाइ लगत्तै दिएको भिडियो सन्देशमा उनले भनेका छन्, भारतले सधैँ आतंकवादीको आरोप लगाएपनि उच्च अदालतको आदेशले भारतीय प्रचार झुट्टो रहेको पुष्टि गरेको छ।

आरोप

सइदलाई घरमै नजरबन्दमा राख्ने ज्यानुअरीमा लिइएको निर्णयलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आतंकवादसँग निकट सम्बन्ध राख्ने देशहरुविरुद्ध जनाएका प्रतिक्रियाको परिणाम ठानिन्छ।

सइदले सन् १९९० को दशकमा पाकिस्तान मुख्यालय रहेको लस्कर ए तायबा उग्रवादी समूहको गठन गरेका थिए।

तर त्यसविरुद्ध प्रतिबन्ध लगाइएपछि उनले एउटा पुरानो संगठन जमात उद दावा अर्थात जेयुडीलाई सन् २००२ मा पुनर्गठन गरेका थिए।

सइदले जयुडी इस्लामवादी परोपकारी संस्था भएको बताउने गरेका छन्।

तर, अमेरिकाले त्यो लस्कर ए तायबाको एउटा मोर्चा भएको बताउँदै आएको छ।

तस्बिर स्रोत, AFP

बीबीसीलाई सन् २०१४ मा दिएको एउटा दुर्लभ अन्तर्वार्तामा सइदले मुम्बइ आक्रमणसँग आफ्नो कुनै सम्बन्ध नरहेको भन्दै त्यो भारतीय प्रचारबाजी भएको बताएका थिए।

तना

भारतले आफ्नो भूमिमा भएका कैयौं उग्रवादी हमलामा सइद र उनको संगठन संलग्न रहेको आरोप लगाउने गरेको छ।

तर पाकिस्तानले उनीविरुद्ध अभियोग लगाउने आधार सहितका प्रमाण नभेटिएको बताउने गरेको छ।

बीबीसी संवाददाता सेकन्दर केरमानी भन्छन्, "रिहाइपछि सइदले उनका समर्थकहरुले उनी नजरबन्दमा रहँदा खोलेको इस्लामवादी दलमा महत्वपूर्ण भूमिका खेल्न सक्नेछन्।"

उनी थप्छन्, "यो रिहाइले पाकिस्तानी गुप्तचर निकायले हाफिज सइद र उनीसँग सम्बन्धित लडाकुहरुलाई समर्थन गरेको आरोप लगाउँदै आएको भारतसँगको तनाव भने अझ बढाउन सक्ने देखिन्छ।"

सन् २००१ मा भारतीय संसदमा गरिएको हमलामा लस्कर ए तायबालाई आरोपित गरिएपछि उनलाई तीन महिना थुनामा राखिएको थियो।

सन् २००६ को अगष्टमा पनि अरु देशहरुसँगको सम्बन्ध बिग्राने गतिविधिमा संलग्न रहेको आरोपमा उनी केही महिना जेलमा बसेका थिए।