पहिलो चरणको चुनावमा ६५ प्रतिशतभन्दा बढी मतदान

  • 26 नोभेम्बर 2017
निर्वाचन आयोग

प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यका लागि ३२ जिल्लामा भएको प्रथम चरणको मतदानमा ६५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक विवरण निर्वाचन आयोगले दिएको छ।

खासगरि उच्च पहाडी तथा हिमाली भेगमा भएका मतदानमा चिसोको कारण मतदाताको सहभागितामा केही प्रभाव परेको अधिकारीहरुले बताएका छन्।

३ बजेसम्म ५५ प्रतिशत मतदानः आयोग

मतपेटिका “विशेष सुरक्षा निगरानीमा” राखिने

यस वर्षको शुरुमा भएका स्थानीय तहको निर्वाचनमा देखिएको मतदाता सहभागिता भन्दा अलिकति कम सहभागिता यसपटकको निर्वाचनमा देखिएको आयोगको विवरणबाट देखिन्छ।

पुन: निर्वाचन

केही ठाउँमा हिंसाको खबर आए पनि समग्रमा निर्वाचन शान्तिपूर्ण नै सम्पन्न भएको आयोगले बताएको छ।

कुल ४,४६५ वटा मतदान केन्द्र मध्ये दुई वटा मतदान केन्द्रमा मात्र पुन: निर्वाचन गरिनुपर्ने भएको बताइएको छ।

निर्वाचन आयोगले रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ५ को रत्न माध्यामिक विद्यालयस्थित केन्द्रमा प्रतिनिधिसभातर्फको मतपेटिका 'आफै जल्न थालेको' मतदान अधिकृतले जानकारी गराएको बताएको छ।

रुकुम पश्चिमकै आठबिसकोट नगरपालिका ११ को राष्ट्रिय माध्यमिक विद्यालयको मतदान केन्द्रमा समानुपातिकतर्फको मतपेटिकाबाट धुँवा निस्केको जानकारी प्राप्त भएको पनि उसले बताएको छ।

ती दुवै स्थानमा मतदान कार्य स्थगित भएको आयोगले जनाएको छ।

त्यहाँ मुख्य निर्वाचन अधिकृतले चाँडै नै पुन:निर्वाचन गराउने आयोगले बताएको छ।

मतदान लगत्तै मतपेटिकाको ढुवानी कार्य शुरु भएको आयोगले जनाएको छ।

सम्बन्धित सामग्री