वाम गठबन्धन लोकतन्त्र विरोधी: देउवा

  • 27 नोभेम्बर 2017
Image caption देउवाले, उनकै शब्दमा, एक दलीय कम्युनिष्ट तानाशाही लाद्न खोजिएको दावी गरे

नेपाली कांग्रेसद्वारा सोमबार झापाको गौरादहमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धन लोकतन्त्र विरोधी भएको दावी गरेका छन्।

उनले वाम गठबन्धनमार्फत देशमा एक दलीय कम्युनिष्ट शासन स्थापना गर्न खोजिएको आरोप पनि लगाए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभाका लागि प्रत्यक्ष निर्वाचन तर्फका उम्मेदवार रहेको झापा क्षेत्र नं ५ को गौरादह नगरपालिकामा आयोजित आम सभामा बोल्दै देउवाले भने, "नेपालमा एक दलीय कम्युनिष्ट शासन स्थापना गर्न खोजिँदैछ । एक दलीय कम्युनिष्ट तानाशाही लाद्न खोजिएको छ । भन्न थालिसके यो संविधान ठीक छैन, राष्ट्रपति शासन लाउनुपर्छ।"

तर गठबन्धनले त्यस्ता आरोपहरुको खण्डन गर्दै आएको छ।

आग्रह

देउवाले दोस्रो चरणको समेत निर्वाचन सम्पन्न भए पश्चात जनताका अधिकार स्थापित हुनेमा विश्वस्त हुन सर्वसाधारणलाई आग्रह गरे।

उनले भने, "जनताका प्रचुर अधिकारहरु स्थापित हुन्छन् जहाँ जनता यो देशका मालिक हुन्छन् । जनतालाई बोल्ने, लेख्ने, अन्यायका विरुद्ध लड्ने तथा संगठन गर्ने अधिकार स्थापित हुन्छन्।"

गत मंसिर ७ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा पुगेका थिए।

त्यसको केही दिनमै पहिलो चरणको निर्वाचन सकिने बित्तिकै देउवा ओलीको निर्वाचन क्षेत्र आएका हुन्।

आरोप

देउवाले वर्तमान संविधान समावेशी भएको र त्यसको मर्ममाथि आघात पुग्ने किसिमका अभिव्यक्तिहरु वाम गठबन्धनका नेताहरुबाट आउन थालेको आरोप लगाए।

देउवाको साथमा आएका वरिष्ठ कांग्रेस नेता रामचन्द्र पौडेल वाम गठबन्धनका शीर्ष नेता विरुद्ध खनिएका थिए।

उनले वामपन्थी दलहरुले संसदीय व्यवस्थामाथि धावा बोलेको भन्दै आपत्ती जनाए।

संकेत

पौडेलले भने, 'यो गठबन्धनले नेपालको भलो गर्दैन। यो अनिष्टको संकेत हो। अहिले संविधानले जुन अधिकार दिएको छ त्यसको कार्यान्वयन संसदीय व्यवस्थामा मात्र हुन्छ।'

प्रधानमन्त्री देउवाले झापाका बाढीपीडितहरुका लागि घर बनाउनका लागि १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ बराबरको न्यानो कपडा, दुई हजार बराबरको बीउबिजन लगायतका राहतका कार्यक्रमको पनि घोषणा गरेका थिए।

Image caption प्रधानमन्त्री देउवाले लगाएको आरोपको एमाले अध्यक्ष ओलीले प्रतिवाद गरेका छन्

त्यस्तो घोषणा आचारसंहिता विपरित रहेको नेकपा एमालले प्रतिक्रिया दिएको छ।

प्रतिवाद

प्रधानमन्त्री देउवाले लगाएको आरोपको एमाले अध्यक्ष ओलीले प्रतिवाद गरेका छन्।

पश्चिम नेपालको चुनावी दौडाहाका क्रममा बर्दियामा आयोजित वाम गठबन्धनको संयुक्त सभालाई सम्वोधन गर्दै उनले वामपन्थी गठबन्धन बनेपछि कांग्रेस आत्तिएको टिप्पणी गरे।

उनले बीपी कोइराला र गणेशमान सिंह जस्ता नेता देखेर सो दलमा लागेको हुनसक्ने भन्दै ओलीले कांग्रेस कार्यकर्तालाई फकाउँदै भने, "अहिले समाजवाद भन्दा झस्याङ तर्सिने काँग्रेस छ। त्यस्तो काँग्रेस होइन, तपाईंले चाहेको लोकतन्त्र हामी दिन्छौं। तपाईले चाहेको विकास, शान्ति सुव्यवस्था र स्वाधीनता हामी दिन्छौं। अनि भोट अन्त किन हाल्नुहुन्छ?"

हाम्रा संवाददाता भन्छन्, दोश्रो चरणको मतदानकालागि दुई साताभन्दा पनि कम समय रहँदा प्रमुख दलहरुबीच आरोप, प्रत्यारोप बढ्दै गएको देखिन्छ।

सम्बन्धित सामग्री