पोपले उल्लेख गरेनन् रोहिंज्या शब्द

  • 28 नोभेम्बर 2017
पोप तस्वीर कपीराइट AFP

म्यानमारको भ्रमणमा रहेका क्याथोलिक इसाईहरुका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले त्यहाँ विशेष सम्बोधन गर्दै प्रत्येक जातीय समुदायप्रति सम्मान गरिनुपर्ने माग गरेका छन्।

तर आफ्नो सम्बोधनमा उनले उत्पीडनको सामना गरिरहेका रोहिंज्या मुसलमानहरुको बारेमा उल्लेख गरेनन्।

अधिकारवादी संगठनहरुले भने पोपलाई रोहिंज्या शब्द उल्लेख गर्न आह्वान गरेका थिए।

आग्रह

पोप फ्रान्सिसलाई म्यानमारमा रहेका क्याथोलिक इसाईहरुका निम्ति कठिनाइ उत्पन्न गराउन सक्ने भन्दै म्यानमारको क्याथोलिक गिर्जाघरले रोहिंज्या शब्द उल्लेख नगर्न भनेको थियो।

पोपले सम्बोधनका क्रममा रोहिंज्या शब्दको उच्चारण नगरेपनि उनको सम्बोधन जातिगत अधिकारको सशक्त प्रतिरक्षामा रहेको बताइएको छ।

सम्बोधनपूर्व उनले म्यानमारकी नेतृ आङ सान सू चीसँग भेटवार्ता गरेका थिए।

सू ची ले पनि स्पष्ट रुपमा रोहिंज्याबारे केही बोलिनन्, तर रखाइनमा तनाव जारी रहेको स्वीकार्दै यो स्थितिले विश्वको ध्यान एकदमै खिंचेको बताइन्।

उनले म्यानमारमा सबै मानिसको अधिकार रक्षा गरिने प्रतिबद्धता पनि जनाइन्।

अस्वीकार

म्यानमारको सरकारले रोहिंज्या शब्द अस्वीकार गर्छ र उनीहरुलाई बांग्लादेशबाट गैरकानूनी रुपमा बसाइँ सरेका बंगालीहरुका रुपमा चित्रण गर्छ।

त्यसैले उनीहरुलाई देशको जातीय समुदायमा सूचीकृत गर्न नसकिने उसले बताउँदै आएको छ ।

म्यानमारको रखाइन राज्यमा रोहिंज्या मुसलमानमाथि भएको सैन्य कारवाहीलाई संयुक्त राष्ट्रसंघले 'जातीय सफाया' को संज्ञा दिंदै आएको छ ।

गत अगस्टयता त्यहाँ भएको हिंसात्मक सैन्य कारवाहीबाट बच्न ६ लाखभन्दा बढी रोहिंज्याहरु भागेर छिमेकी देश बांग्लादेश पुगेका छन् ।

सम्बन्धित सामग्री