पोपले उच्चारण गरे रोहिंज्या शब्द

  • 1 डिसेम्बर 2017
पोप फ्रान्सिस तस्वीर कपीराइट Reuters

बांग्लादेशको भ्रमणमा रहेका क्याथोलिक ईसाईहरुका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले रोहिंज्या मुसलमानहरुको एक समूहसँग भेट गर्दै उनीहरुलाई पहिलो पटक रोहिंज्या शब्दले सम्बोधन गरेका छन्।

ढाकामा आयोजित एक अन्तरधार्मिक भेलामा पोप फ्रान्सिसले १६ जना रोहिन्ज्या शरणार्थीको एक समूहलाई भेटेका थिए।

उनले यसअघि म्यान्मारको भ्रमणको क्रममा रोहिंज्या शब्दको प्रयोग गरेका थिएनन्।

म्यान्मारले रोहिंज्यालाई छुट्टै जातिको पहिचान दिएको छैन।

गैरकानूनी

म्यान्मारमा रोहिंज्यालाई "बंगाली" भन्ने गरिन्छ।

म्यान्मारले रोहिंज्याहरु बांग्लादेशबाट गैरकानूनी रुपमा आएको बताउने गरेको छ।

त्यसैले त्यहाँ उनीहरुलाई छुट्टै जातीय पहिचान दिइएको छैन।

ढाकामा आयोजित अन्तरधार्मिक भेलामा पोप फ्रान्सिसले शरणार्थी समस्याबारे कुरा गरेनन्।

आग्रह

तर उनले अनौपचारिक रुपमा बोल्दै रोहिंज्या शरणार्थीबारे चर्चा गरेका थिए।

धार्मिक भेलामा शरणार्थीहरुसँगको भेटमा पोप फ्रान्सिसले भने, "तपाईँहरुलाई दुर्व्यवहार गर्ने र दु:ख दिनेलाई क्षमा मिलोस् भनेर म प्रार्थना गर्दछु।"

उनले भने, "म तपाईँहरुको ठूलो दिललाई हामीले चाहेजस्तो क्षमा दिन आग्रह गर्दछु।"

मानव अधिकारवादी समूहहरुले पोपलाई शरणार्थी समुदायलाई रोहिंज्या शब्दले सम्बोधन गर्न आग्रह गरेका थिए।

चेतावनी

तर म्यान्मारका अधिकारवादी समूहले चाहिँ बहुसंख्यक बौद्धमार्गी समूह क्रुद्ध हुन सक्ने भन्दै पोपलाई रोहिंज्या शब्दको प्रयोग नगर्न चेतावनी दिएका थिए।

बांग्लादेशमा क्याथोलिक ईसाईहरुको संख्या निकै सानो छ।

तीन लाख ५० हजारको संख्यामा रहेको सो समूहले बांग्लादेशको जनसंख्याको ०.२ प्रतिशत हिस्सा ओगटेको छ।

त्यसअघि पोप ढाकामा १६ जना पादरी सहभागी एक धार्मिक भेलामा सहभागी भएका थिए।