“प्लास्टिक प्रदूषणः पृथ्वीका लागि संकट”

  • 5 डिसेम्बर 2017
प्लास्टिक तस्वीर कपीराइट AFP

संयुक्त राष्ट्रसंघका सामुद्रिक मामिलासम्बन्धी प्रमुखले समुद्रमा तीव्र गतिमा बढेको प्लास्टिकजन्य फोहोरका कारण समुद्रमा रहेका जीवहरुको जीवनमा अपूरणीय क्षति पुग्ने जोखिम रहेको चेतावनी दिएकी छन्।

लिजा स्भेन्सनले सरकारहरु‚ कम्पनीहरु‚ र व्यक्तिहरुले प्लास्टिकको प्रदूषण रोक्न एकदमै चाँडो कदमहरु चाल्नुपर्ने बताएकी छन्।

"यो पृथ्वी ग्रहकै लागि एक संकट हो," उनले भनिन्। "प्लास्टिक प्रयोगको सहजता पत्ता लागेको केही दशकभित्रै हामीले महासागरका जैविक प्रणालीलाई बिगारिरहेका छौँ।"

केन्याको राजधानी नैरोबीमा हुन लागेको संयुक्त राष्ट्रसंघको वातावरणसम्बन्धी शिखर सम्मलेनपूर्व बीबीसीसँग कुरा गर्दै उनले त्यस्तो बताएकी हुन्।

सो शिखर सम्मेलनमा सहभागी प्रतिनिधिहरु प्लास्टिकका कारण बढेको फोहोर विरुद्ध कडा कदमहरु चालियोस् भन्ने चाहन्छन्।

काईको कहानी

प्लास्टिकको फोहोर निलेका जीवको उपचार गर्ने केन्यास्थित कछुवा उपचार गर्ने एक अस्पतालबारे थाहा पाउँदा स्भेन्सन दुःखी भएकी थिइन्।

त्यहाँ उनले काई नाम दिइएको सानो एउटा कछुवा देखिन्। एक महिनाअघि माझीहरुले त्यसलाई अस्पताल ल्याएका थिए किनकि त्यो समुद्रमाथि तैरिरहेको थियो।

तस्वीर कपीराइट Andre Seale/VW Pics/Science Photo Library
Image caption प्लास्टिकको प्रदूषणले कछुवाजस्ता जीव निकै प्रभावित भएको बताइन्छ।

प्लास्टिकजन्य फोहोर तत्कालै त्यसका लागि जिम्मेवार रहेको शंका गरिएको थियो किनभने कछुवाहरुले धेरै प्लास्टिकजन्य वस्तुहरु खाएमा उनीहरुको पेट फुल्दछ र उनीहरुले समुद्रमाथि तैरिरहन पुग्छन्।

दुई हप्तासम्म काई लाई उनको शरीरभित्रको प्लास्टिक निकाल्नका लागि पाचनसँग सम्बन्धी औषधिहरु दिइएको थियो। स्भेन्सन एक भावुक क्षणको साक्षी बन्न पुगिन् जब काई लाई उसको पूर्ण स्वास्थ्यलाभका लागि समुद्रमा फिर्ता लगियो।

समस्याका पाटा

अल्बाट्रस लगायत अन्य समुद्रीचराहरु र अन्य सामुद्रिक प्राणीहरुले खानेकुरा भनी झुक्किन पुगेर प्लास्टिकजन्य वस्तुहरु खान पुग्छन्।

तर प्लास्टिकका झोलाहरु समस्याको एउटा मात्र पाटो भएको बताइन्छ। पानीका स्रोतहरु हुँदै बग्ने अन्य धेरैखाले प्लास्टिकहरु यी समस्याका कारक रहेका छन्।

"संयुक्त राष्ट्रसंघीय प्रक्रिया निकै सुस्त छ," स्भेन्सनले स्वीकारिन्। प्लास्टिकजन्य फोहोरसम्बन्धी संयुक्त राष्ट्रसंघीय सन्धिमा सम्झौता गराउन दश वर्ष लाग्न सक्छ र यसको कार्यान्वयन गर्न थप दुई वर्ष लाग्न सक्छ।"

"हामी संयुक्त राष्ट्रसंघकै प्रक्रियाबाट जानु पर्दछ किनकि यो साँच्चि नै एउटा विश्वव्यापी समस्या हो तर हामी त्यतिञ्जेलसम्म प्रतीक्षा गर्न सक्दैनौँ।"

अधिक माछा मार्ने कार्य‚ रासायानिक प्रदूषण‚ ढल मिसावट‚ तटीय क्षेत्रमा संरचनाहरुको निर्माण‚ जलवायु परिवर्तन, बढ्दो अम्लीय पना र कोरल रिफको अत्यधिक दोहन लगायतका धेरै किसिमका समस्याहरुको समुद्रले सामना गरिरेहको उनले बताइन्।

सम्बन्धित सामग्री