'क्याटलान नेताहरुविरुद्ध जारी पक्राउ पुर्जी फिर्ता'

  • 5 डिसेम्बर 2017
क्याटलोनिया तस्वीर कपीराइट Reuters

स्पेनको सर्वोच्च अदालतले बेल्जियम भागेका क्याटलान नेता कार्लस पुज्डमोन तथा अन्य चार पूर्व क्षेत्रीय मन्त्रीहरुविरुद्ध जारी भएको पक्राउ पुर्जी फिर्ता लिएको छ।

एकपक्षीय ढंगले क्याटलोनियाको स्वतन्त्रता घोषणा गर्न उनीहरुले खेलेको भूमिकाका कारण उनीहरुमाथि देशद्रोहका आरोप लागेका छन्।

ती पाँचै जनाले हाल बेल्जियममा सुपुर्दगीका सुनुवाई सामना गरिरहेका छन्।

अदालतले आफ्नो पछिल्लो निर्णय दिंदा न्यायाधीशले ती नेताहरुले स्पेनमा फर्कने इच्छा देखाएको उल्लेख गरेका छन्। ती नेताहरु यसै महिना क्याटलोनियामा भइरहेको चुनावमा उठेका छन्।

उक्त चुनावका निम्ति मंगलबारबाट प्रचारप्रसार शुरु भएका छन्।

पुज्डमोनले यस निर्वाचनलाई जनमतसंग्रहको संज्ञा दिएका छन् - जसले स्वतन्त्र क्याटलोनिया प्रति उनको मनशाय झल्काएको ठानिएको छ।

साथै न्यायाधीशले युरोपेली पक्राउ पुर्जीले स्पेनी कानूनी अनुसन्धानमा प्रभाव पर्ने भन्दै त्यो फिर्ता लिंदा स्पेनले अनुसन्धानमाथि पूर्ण नियन्त्रण पुन: प्राप्त गर्ने बताए।

यसबीच नोभेम्बरको अन्ततिर स्पेनी समाजशास्त्रीय अनुसन्धान केन्द्रले गरेको एक मत सर्वेक्षणले स्वतन्त्रता पक्षधर दलहरुलाई झिनो अन्तरले बहुमत नपुग्ने देखाएको थियो।

सम्बन्धित सामग्री