‘प्रादेशिक राजधानीको टुङ्गो चाँडै'

  • 7 डिसेम्बर 2017
मतदान तस्वीर कपीराइट AFP

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको बिहीवार दोस्रो चरणको मतदान सकिए लगत्तै प्रदेश प्रमुख तोक्ने तथा केन्द्र र प्रदेशको व्यवस्थापनसम्बन्धी बाँकी काम थालिने कामचलाउ सरकारका प्रवक्ताले बताएका छन्।

अर्को हप्ता बस्ने मन्त्रिपरिषद् बैठकले त्यससम्बन्धी निर्णय गर्न सक्ने प्रवक्ता मोहन बस्नेतले बताए।

निर्वाचन आयोगले भने कुनै अवरोध नभए तीन हप्ताभित्रमा निर्वाचनको सम्पूर्ण नतिजा आइसक्ने जनाएको छ।

निर्वाचनको अन्तिम परिणाम आएको २० दिनभित्र प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

ढिलाई

तर प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन शुरु भइसक्दा समेत प्रदेश प्रमुख तोकिएको छैन भने प्रदेश राजधानी तय गर्ने काममा ढिलाई भइरहेको देखिन्छ।

तस्वीर कपीराइट AFP

कामचलाउ सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री बस्नेतले आगामी मन्त्रिपरिषद्को बैठकले बाँकी कामबारे निर्णय गर्ने बताए।

उनले भने, "संविधानमा व्याख्या भएका तर नियुक्ति गर्नुपर्ने व्यक्तिहरु लगायतका विषयमा छलफल गर्न मंसिर २२ गते प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। त्यो बैठकमा छलफल हुन्छ होला।"

नेपालमा प्रदेश सभाको अभ्यास पहिलो पटक हुन लागेकोले सातवटै प्रदेशमा कार्यालय स्थापना गर्ने काम पनि बाँकी छ।

प्रदेशको अस्थायी राजधानी तोक्ने जस्तो महत्त्वपूर्ण काम पनि हुन सकेको छैन।

सिफारिस

निर्वाचनपछि प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी २ सय ७५ तथा प्रदेश सभामा ५ सय ५० सदस्य निर्वाचित हुनेछन्।

ती सबै सांसदको अन्तिम सूची तयार पार्न भने मतगणना बाहेक पनि थप समय लाग्ने निर्वाचन आयोगले बताएको छ।

आयोगका प्रवक्ता नवराज ढकालले भने, "आयोगले समानुपातिकतर्फको नतिजा प्राप्त भएपछि राजनीतिक दलहरुलाई यसअघि बुझाएको बन्दसूचीबाट उहाँहरुले पाउनुभएको सीटका आधारमा प्रतिशत मिलाएर नाम सिफारिस गर्ने हो। यी सबै प्रक्रिया सकाउन दुई हप्ता लाग्न सक्छ।"

मतपरिणाम आएको ३० दिनभित्र राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

त्यसपछि सभामुख, राष्ट्रपति र प्रधानमन्त्री चयन हुने प्रक्रियालाई बढीमा २ महिना लाग्न सक्ने बताइएको छ।

साथै केन्द्रीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी विधेयक राष्ट्रपति कार्यालयबाट स्वीकृत हुन बाँकी नै छ।