मत परिणाम घोषणापछि कसले के भने?

  • 9 डिसेम्बर 2017
मतदान तस्वीर कपीराइट Facebook

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका मत परिणाम धमाधम आइरहेका छन्। अहिलेसम्म प्राप्त भएका मत परिणाम अनुसार वाम गठबन्धन निकै अगाडि देखिएको छ।

पछिल्लो मत परिणामका आधारमा पार्टीगत हिसाबमा नेकपा एमाले पहिलो स्थानमा, माओवादी केन्द्र दोस्रो स्थानमा र नेपाली कांग्रेस तेस्रो स्थानमा रहेका छन्।

ललितपुर क्षेत्र नम्बर ३ बाट विजयी माओवादी नेतृ पम्फा भुषालले चुनावी अभियानका क्रममा गरिएका प्रतिबद्धता पूरा गरेर पाँच वर्षपछि पनि वामपन्थीहरुकै सरकार बनाउने परिस्थिति बनाइने बताइन्।

वाम गठबन्धनद्वारा अग्रता कायमै

खर्चिलो चुनावले भ्रष्टाचार मौलाउने चेतावनी

आरोह अवरोह

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मदनबहादुर अमात्य थिए।

कांग्रेसका गगन थापा काठमाण्डू क्षेत्र नम्बर ४ बाट विजयी भएका छन्।

विजयी भएपछि दिएको भाषणमा मत परिणाम कांग्रेसका लागि सुखद रहन नसकेको उल्लेख गर्दै उनले भने, "नेपाली कांग्रेसले इतिहासमा अनेक आरोह-अवरोह भोगेको छ। अहिले भएको परिणामबाट देशभरका कार्यकर्तालाई सम्बोधन गर्दै भने कोही निराश नहुनुहोला। कांग्रेस फेरि उठ्छ र जाग्छ। नेपाली कांग्रेसलाई सुधार्ने संकल्प गरौँ। उच्च मनोबलका साथ मत परिणाम स्वीकार गर्नुहोला।"

चुनावी प्रचारक्रममा बम विस्फोटको निशाना समेत बनाइएका गगन थापाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराई थिए।

उत्साही

काठमाण्डू क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र नेपाली कांग्रेसका प्रकाशमान सिंहबाट पराजित भए।

प्रचारप्रसारको अन्तिम समयतिर कांग्रेस एमालेले साठगाँठ गरेर आफूलाई हराएको दावी गर्दै मिश्रले देशव्यापी प्राप्त मतबाट आफूहरु उत्साहित भएको बताए।

नेकपा एमालेका सचिव योगेश भट्टराईले जितले आफूलाई झन् जिम्मेवार बनाएको महसुस भएको बताए।

उनले आगामी सरकारबारे भने, "अबको सरकार स्थिर सरकार हुन्छ। नेपाली जनताले चाहेको स्थिर सरकार हो। संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धि खोज्नु सरकारको मुख्य दायित्व हुनेछ।"

बागलुङ-२ बाट विजयी भएका माओवादी केन्द्रका देवेन्द्र पौडेलले आगामी पाँच वर्ष वाम गठबन्धनले सरकार चलाउन पाउने परिस्थिति बनेको बताए।

उनले पाँच वर्षमा छिमेकी मुलुकसँग मित्रवत सम्बन्ध राखेर नेपालको समृद्धि खोजिने बताए।

प्रतिबद्धता

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरबहादुर पुन थिए।

एमालेका लालबाबु पण्डित मोरङ-६ बाट विजयी भएका छन्।

बीबीसीसँग कुरा गर्दै पण्डितले चुनाव अघि मतदातासँग गरेको प्रतिबद्धता र घोषणापत्रका कुराहरु पुरा गर्न आफू लाग्ने बताए।

पण्डितसँग पराजित भएका नेपाली कांग्रेसका शेखर कोइरालाले विज्ञप्ति जारी गर्दै निर्वाचनको परिणामलाई सहज रुपमा लिएको बताएका छन्।

उनले निर्वाचनको परिणामबाट कत्तिपनि विचलित नहुन देशभरका लोकतान्त्रिक पक्षधर र शुभचिन्तकलाई आग्रह गरे।