समानुपातिकको मतगणना शुरु

  • 9 डिसेम्बर 2017
मतगणना

प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो हुनेले जित्ने निर्वाचन प्रणाली अर्थात प्रत्यक्षतर्फको मतगणना सकिएका कतिपय स्थानमा समानुपातिकतर्फको मतगणना थालिएको निर्वाचन आयोगले जनाएको छ।

पहिलो चरणमा निर्वाचन सम्पन्न भएका ३२ जिल्लामध्ये आधाजसोमा समानुपातिकको गणना थालिएको आयोगका प्रवक्ता नवराज ढकालले बीबीसीलाई बताए।

ती जिल्लाका ३० भन्दा बढी स्थानमा समानुपातिकको मतगणना भइरहँदा नेपाली कांग्रेस अगाडि देखिएको प्रारम्भिक विवरण निर्वाचन आयोगले दिएको छ।

अघिपछि

प्रत्यक्षमा भने दिउंसो ४ बजेसम्मको घोषित नतिजा अनुसार कांग्रेस एमाले र माओवादी केन्द्रभन्दा पछाडि छ।

प्रदेशसभातर्फ प्रदेश नम्बर २, ४ र ७ मा पनि समानुपातिकको मतगणना भइरहेको छ।

प्रदेश २ को प्रारम्भिक परिणाममा राष्ट्रिय जनता पार्टी नेपाल अगाडि छ।

प्रदेश ४ मा एमाले अगाडि छ भने प्रदेश ७ मा कांग्रेसले अग्रता कायम गरेको छ।

समानुपातिकतर्फ मतगणना शुरु भएको आठ दिनभित्र सक्ने लक्ष्य निर्वाचन आयोगको छ।