‘काम हेरेरमात्रै वाम गठबन्धनलाई विश्वास’

  • 9 डिसेम्बर 2017
वाम गठबन्धन

चुनावी नतिजालाई लिएर इन्टरनेटका सामाजिक सञ्जालमा भैरहेका चर्चामा वाम गठबन्धनबाट पनि आफूहरुले धेरै अपेक्षा नगरेको कतिपयले टिप्पणी गरेका छन्।

वाम गठबन्धन कायम रहे अब स्थिर सरकार बन्ने भएपनि विगतमा सिंहदरबारमा आसीन भइसकेका दलहरु नै गठबन्धनमा भएकाले धेरै अपेक्षा नगरेको कैयौंको मत पाइएको छ।

विश्लेषक विष्णु सापकोटाले आफ्नो ट्वीटमा लेखेका छन्, "स्थिर सरकार बन्ला, त्यो राम्रो हो। तर अहिले नै उत्साहित भएर वामगठबन्धन सरकारबाट धेरै अपेक्षा नगरिहालौं। नचिनेका, नदेखेका कोही पनि होइनन्, काम नदेखेसम्म धेरै पत्याइहाल्ने वाला छैन म!"

पत्रकार दीपक अधिकारीले पनि मिल्दोजुल्दो मत राख्दै एमाले र माओवादी केन्द्र विगतमा परीक्षण भइसकेका दलहरु भएकाले 'वाम लहर'ले आफूलाई उत्साहित नपारेको ट्वीटरमा टिप्पणी गरेका छन्।

कतिपयले वाम गठबन्धनको प्रमुख दल एमालेप्रति लक्षित गर्दै विगतमा उठाउँदै आएको मुद्दाहरु छाड्न सुझाव दिएका छन्।

नाकाबन्दीमा लिएको अडान, वृद्ध भत्ता जस्ता मुद्दा एमालेले पटकपटक उठाउने गरेको भन्दै दीपक पौडेल आफ्नो जवाफी ट्वीटमा लेख्छन्, "सिक्ने मौका हो!अब सिकेनन् भने कांग्रेसको हाल हुन्छ। सानो अडान र केही लोकप्रिय कार्यक्रमले यो सबै सम्भव भएको (हो) एमालेलाई! सधैं 'वृद्ध भत्ता र नाकाबन्दीको विरोधी' एजेन्डाले काम गर्दैन।…."

सम्बन्धित सामग्री