एमाले २१, माओवादी केन्द्र ७, कांग्रेस ५

  • 9 डिसेम्बर 2017
जुम्ला बजारमा एमालेको विजय यात्रा

शनिवार दिउंसो ४ बजेसम्म प्राप्त निर्वाचन आयोगको विवरण अनुसार नेकपा एमालेका उम्मेदवारले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ २१ स्थानमा विजय हासिल गरेका छन् भने माओवादी केन्द्रले ७ स्थानमा जितेको छ।

पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसले ५ स्थान हासिल गरेको छ भने १ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

मोरङमा ३ स्थानमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् भने २ स्थानमा माओवादी केन्द्र र एक स्थानमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

मीनेन्द्र रिजाल मोरङमा कांग्रेसलाई एक मात्र जित दिलाउन सफल भएका हुन्।

पराजय

तर नेपाली कांग्रेसका शेखर कोइराला, महेश आचार्य, अमृत अर्याल र डिगबहादुर लिम्बु पराजित भएका छन्।

पराजयपछि कोइरालाले बीबीसीसँग भने, "जनताले आफ्नो निर्णय गरेका छन्, हामी हार स्विकार्छौं। तर अब वाम गठबन्धन कति लोकतान्त्रिक हुनेछ त्यो हामीले हेर्नु पर्छ।"

दिउंसो ४ बजेसम्म सार्वजनिक विवरण अनुसार नेकपा एमाले ७८ स्थानमा अग्रस्थानमा रहेको छ।

नेकपा माओवादी केन्द्र ३३ स्थानमा अग्रस्थानमा रहेको छ।

नेपाली कांग्रेस चाहिँ २६ स्थानमा अगाडि रहेको छ।

संघीय समाजवादी फोरमका उम्मेदवार ९ स्थानमा अग्रस्थानमा रहेका छन् भने स्वतन्त्र एक स्थानमा र अन्य दलका उम्मेदवार ११ स्थानमा अग्रस्थानमा रहेका छन्।