परिणाम 'अनपेक्षित' भएको प्रतिक्रिया

  • 9 डिसेम्बर 2017
जुम्लामा विजय जुलुस

लामो राजनीतिक संक्रमण अन्त्य गर्ने ठानिएको निर्वाचनमा अहिलेसम्म प्राप्त भएका मत परिणाम अनुसार वाम गठबन्धन निकै अगाडि देखिएको छ भने संसदको पहिलो ठूलो दल नेपाली कांग्रेसले उसकै शब्दमा 'अनपेक्षित' परिणाम हासिल गरेको छ।

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा विजयी उम्मेदवारहरुले आफूहरुले चुनाव अघि गरेका प्रतिवद्धताको अक्षरस पालना गर्ने बताइरहेका बेला सत्तारुढ नेपाली कांग्रेसका कतिपय नेताहरु भने वाम गठबन्धनको सरकारको कार्यशैली लोकतान्त्रिक नहुने बताएका छन्।

तर वाम गठबन्धनका नेताहरुले भने त्यस्तो आशंकालाई प्रतिपक्षमा बस्नुपरेको पीडाको संज्ञा दिएका छन्।

पछिल्लो समय जनताले मतपेटिकाबाट व्यक्त गरेको मतले परिवर्तन खोजेको र नेपाली कांग्रेसले आन्तरिक कार्यशैलीलाई सुदृढ गर्नुपर्ने जनादेश प्राप्त भएको आम बुझाइ छ।

कार्यशैली

तर मोरङ क्षेत्र नम्बर ६ मा लालबाबु पण्डितसँग हार बेहोरेका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भने अब बन्ने भनिएको वाम गठबन्धनको सरकारको कार्यशैलीप्रति आशंका व्यक्त गर्छन्।

उनले भने, ''जनताले जुन कार्यादेश दिएको छ, लोकतन्त्रमा त्यो कार्यादेशलाई स्वीकार गर्दागर्दैपनि देश कसरी अघि बढ्छ? वाम गठबन्धन लोकतान्त्रिक पद्धतिबाट अघि बढे त ठीकै छ, केही फरक पर्दैन। तर उनीहरु कम्युनिष्ट सोचाइबाट अघि बढ्छन् भने त्यसपछि देश कसरी अघि बढ्छ त्यही अनुसार हामी पनि कदम चाल्छौं।''

तर वाम नेताहरुको तर्क छ- नेपाली कांग्रेस लामो समय सत्तामा रहेर पनि मुलुकलाई आर्थिक विकास र समृद्धिको बाटोमा अग्रसर बनाउन नसकेकोले जनताले स्थिर सरकारका लागि उनीहरुलाई नयाँ जिम्मेबारी प्राप्त हुँदैछ।

ताप्लेजुङ क्षेत्र नम्बर १ बाट विजयी एमाले नेता योगेश भट्टराईले आगामी पाँच बर्षसम्म सत्ता बाहिर बस्नुपर्ने पीडालाई कांग्रेसका नेताहरुले प्राप्त मतपरिणामप्रति आशंका व्यक्त गरिरहेको बताए।

अधिनायकवाद

उनले भने, ''कुनै पनि पार्टीहरु अधिनायकवादतिर जान सक्दैनन्। त्यसैले नेपालमा अधिनायकवादका लागि झन् स्थान नै छन्। नेपाली कांग्रेसका मित्रहरुलाई म नआत्तिन अनुरोध गर्दछु। प्रतिपक्षमा बस्नुपर्ने छटपटी उहाँहरुलाई होला। तर उसलाई पनि सँगै लिएर हामी यो मुलुकको समृद्धिको दिशामा अघि बढ्ने हो।''

त्यसो त नेपाली कांग्रेसका नेताहरु पार्टीको आन्तरिक कमीकमजोरी भएको भन्ने कैयौंको विश्लेषण नकार्दैनन्।

कांग्रेस क्षेत्र नम्बर १ बाट विजयी भएका प्रकाशमान सिंहले सम्पूर्ण मतपरिणाम सार्वजनिक भएपछि हारको गम्भीर समीक्षा गरेर लोकतन्त्रको मूल्य मान्यतामा कुनै सम्झौता नगरी बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए।

अडान

उनले भने, ''नेपाली कांग्रेसले विगतदेखि नै प्रजातन्त्रको मूल्य मान्यतामा अडान राख्दै आएको छ, हामी लोकतान्त्रिक मूल्य मान्यतामा अडिग रहने पार्टीको रुपमा नेपाली जनताको नजरमा प्रमाणित भइसकेको हो। र आगामी दिनमा पनि त्यो अडान कायम गर्छौं"।

गोरखा २ बाट विजयी नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले चाहिँ जनताले लामो संक्रमणकालपछि स्थिर सरकार खोजेकोले जनमत वाम गठबन्धनको पक्षमा गएको बताए।

उनले भने, ''वर्तमान शासकीय प्रणालीले स्थिरता नदिने खतरा हुन्थ्यो। त्यसैले गठबन्धनबाट स्थिरता आउँछ कि भनेर जनताले दुईवटा पुराना शक्तिहरु मध्ये एउटालाई अवसर दिनु स्वाभाविक नै हो।''

चुनावी परिणामबाट स्थिर सरकारको परिकल्पना गरिएपनि वाम गठबन्धनका दुई प्रमुख शक्ति इमान्दार नभएमा छिट्टै हुने भनिएको एकीकरण प्रक्रिया संकटमा पर्ने र त्यसले सत्ता समीकरणमा समेत असर पर्न सक्ने कतिपय जानकारहरु बताउँछन्।