'प्रत्यक्षतर्फ १६ जिल्लामा मतगणना सम्पन्न'

  • 10 डिसेम्बर 2017
आयोग

निर्वाचन आयोगले आइतवार बिहान ९ बजेसम्ममा १६ जिल्लामा प्रतिनिधि तथा प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना सम्पन्न भएको जनाएको छ।

रसुवा, म्याग्दी, मनाङ, मुस्ताङ, रुकुम पूर्व, डोल्पा, बाजुरा, बझाङ जिल्लाको समानुपातिकतर्फको मतगणना पनि सकिएको छ।

बाँकी आठ जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना कार्य जारी रहेको आयोगले जनाएको छ।

समानुपातिकतर्फको मतगणना जारी रहेका जिल्लामा सोलुखुम्बु, ओखलढुंगा, धनुषा, जुम्ला, हुम्ला, मुगु, बैतडी र दार्चुला छन्।

समानुपातिक मतः अहिलेसम्म कुन दलको कति?

मतगणना

मत परिणामको विवरण केन्द्रीय कार्यालयलाई प्राप्त भइनसकेको आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आयोगका अनुसार, प्रतिनिधि सभाको १ सय ६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म ७४ क्षेत्रको मतगणना सम्पन्न भएको छ।

विजयी हुनेमा ७३ जना पुरुष र एक महिला रहेको आयोगले बताएको छ।

प्रदेश सभातर्फ ३ सय ३० निर्वाचन क्षेत्रमध्ये हालसम्म १ सय ६१ क्षेत्रको मतगणना सम्पन्न भएको छ।

त्यसमा १ सय ५३ जना पुरुष र आठजना महिला छन्।

यसैबीच, मंसिर २१ गते अर्घाखाँची जिल्लाका दुईवटा मतदान केन्द्रमा मतदान स्थगित भई शनिवार पुनः मतदान भएकोमा शनिवार रातिबाटै मतगणना शुरु भएको छ।