समानुपातिक: कांग्रेस-एमाले हाराहारीमै

  • 10 डिसेम्बर 2017
निर्वाचन आयोग

प्रतिनिधि र प्रदेश सभा चुनावमा पहिलो हुनेले जित्ने प्रणाली अर्थात् प्रत्यक्षतर्फ वाम गठबन्धनका दुवै दलभन्दा निकै पछाडि रहेको कांग्रेसले समानुपातिकतर्फ जारी मतगणनामा भने एमालेकै हाराहारीमै मत ल्याएको देखिएको छ।

सातवटा जिल्लाको समानुपातिकतर्फको गणना सकिएको र प्रत्यक्षको परिणाम घोषणा भइसकेका अन्य क्षेत्रमा पनि समानुपातिकतर्फको मतगणना शुरु गरिएको निर्वाचन आयोगले बताएको छ।

प्रत्यक्षतर्फ आइतवार कतिपय चर्चित नेताहरुमध्ये केहीले सहज रुपमा जितेका छन् भने केही पराजित भएका छन्।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६ वटा निर्वाचन क्षेत्रको नतिजा आइसक्दा नेकपा एमालेले ५९ स्थानमा जित हात पारिसकेको छ।

माओवादी केन्द्रले २३ र नेपाली कांग्रेसले १२ वटामा जितेको निर्वाचन आयोगको पछिल्लो विवरणमा उल्लेख छ।

कम अन्तर

प्रत्यक्षतर्फ यति धेरै अन्तर रहेपनि समानुपातिककमा भने हालसम्मको गणनामा एमाले र कांग्रेसको मत हाराहारी जस्तै रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए।

उनल भने, " धेरै गनिसकेको छैन तर हालसम्मको स्थिति हेर्दा प्रमुख दुई राजनीतिक दलको अवस्था उस्तै देखिएको छ। उनीहरुको अन्तर एकदम कम छ।"

समानुपातिकमा माओवादी केन्द्र तेस्रो र नयाँशक्ति नेपाल चौथो स्थानमा छन्।

समानुपातिकतर्फ हाल सातवटा जिल्लाको मतगणना सकिएको र प्रत्यक्षको मतगणना सकिएका निर्वाचन क्षेत्रहरुमा समानुपातिकतर्फको मतगणना गर्ने काम भइरहेको बताइएको छ।

हालसम्मको मतगणनाको गति अनुसार पूर्व निर्धारित आठ दिनभित्र सबै नतिजा आइसक्ने आयोगका अधिकारीहरुले बताएका छन।

जित-हार

प्रत्यक्षतर्फ नेपाली कांग्रेसका नेताहरुको पराजित हुने क्रम आइतवार पनि रोकिएन।

लगातार पाँच पटकसम्म निर्वाचन जितेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, अन्य नेताहरु कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खडका, दीपकुमार उपाध्याय, प्रधानमन्त्री पत्नी आरजु देउवा, युवा नेता विश्वप्रकाश शर्मा पराजित हुनेको सूचीमा थपिएका छन्।

तर प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा झन्डै ७ हजार मतको अन्तरले प्रतिद्वन्द्वीलाई हराउँदै छैठौं पटक चुनाव जितेका छन्।

एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोख्रेल, नेता सुवास नेम्वाङ विजयी भएका छन् तर वाम एकताको सूत्रधार समेत मानिएका उपाध्यक्ष वामदेव गौतम सिँचाइमन्त्री सञ्जय गौतमसँग बर्दिया १ बाट पराजित भएका छन्।

राष्ट्रिय प्रजानतन्त्र पार्टीका अध्यक्ष कमल थापा पनि पराजित भएका छन्।

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहित अध्यक्ष मण्डलका चार जना सदस्यले अग्रता कायम राखेका छन्।

अध्यक्ष मण्डलका दुई सदस्य राजेन्द्र महतो र अनिल कुमार झा निर्वाचित भइसकेका छन्।

माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ मा मतगणना जारी रहँदा उनले मत अन्तरलाई बढाउँदै लगेका छन्।

काँग्रेस महामन्त्री शशांक कोइराला पनि आफ्ना प्रतिद्वन्द्वीभन्दा अगाडि देखिएका छन्।

कांगेसका अर्का नेता विजयकुमार गच्छदार भने आफ्ना प्रतिद्वन्द्वीलाई पछ्याइरहेका छन्।