लेबननमा अमेरिकी दूतावासबाहिर प्रदर्शन

  • 10 डिसेम्बर 2017
अमेरिकी दूतावास बाहिरको एक दृश्य तस्वीर कपीराइट EPA

जेरुसलेमलाई इजरेलको राजधानीको मान्यता दिने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको विरोध चर्कदैं गर्दा लेबननको राजधानी बेरुतस्थित अमेरिकी राजदूतावास नजिकै प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

अमेरिकी दूतावासतर्फ अघि बढिरहेका प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रु ग्यास र पानीको फोहरा प्रहार गरेको थियो।

अमेरिकाका मित्र युएई, साउदी अरेबिया सामेल अरब लिगले ट्रम्पको निर्णयको आलोचना गरेका छन्।

अरब लिगले अमेरिका मध्यपूर्वमा सहजकर्ता बन्न योग्य नरहेको बताएको छ।

जेरुसलेमलाई इजरेलको राजधानीको मान्यता दिने ट्रम्पको निर्णयको विरोधमा अरब र मुसलमान बहुल देशका विभिन्न शहरमा प्रदर्शनहरु भएका छन्।

आलोचना

बेरुतका अतिरिक्त इजिप्टको काइरो, मोरक्कोको रबातमा प्रदर्शन भएका छन्।

प्यालेस्टिनी भू-भागहरुमा पनि प्रदर्शनहरु भएका छन्।

टर्कीमा राष्ट्रपति एर्दोआनले जेरुसलेम इजरेललाई सुम्पिने पक्षमा आफू नभएको बताए।

प्यारिसको भ्रमण थालेका इजरेली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले अमेरिकी घोषणाको भर्त्सना गर्ने युरोपेली कदमको आलोचना गरे।

उनले भने, "म युरोपलाई सम्मान गर्दछु। मैले अमेरिकी निर्णयको युरोपले भर्त्सना गरेको सुनेको छु। तर मैले हामीमाथि बज्रिरहने रकेटहरुको भर्त्सना गरिएको सुनेको छैन।"

इजरेलले गाजाबाट विद्रोही प्रवेश गराउन खनिएको भनिएको एक सुरूङलाई विस्फोटन गरी भत्काइएको बताएको छ।