प्रत्यक्षतर्फको मतगणना सम्पन्न

  • 13 डिसेम्बर 2017
मतदान तस्वीर कपीराइट EPA

प्रतिनिधि सभा चुनाव अन्तर्गतको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको परिणाम आएको निर्वाचन आयोगले जनाएको छ।

बुधवार बिहान सुनसरी क्षेत्र नम्बर ३को मतपरिणाम प्राप्त भएको छ जसमा नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री विजय कुमार गच्छदार साँघुरो मतान्तर सहित संसदमा निर्वाचित भएका छन्।

उनले ३८ हजार ९७२ मत ल्याउने क्रममा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीलाई ३२१ मतले उछिनेका थिए।

अब प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ नेकपा एमालेले ८०, नेकपा माओवादी केन्द्रले ३६ र नेपाली कांग्रेसले २३ सिट जितेका छन्।

परिणाम

त्यसैगरी तराइ केन्द्रित दलहरु राष्ट्रिय जनता पार्टी नेपालले ११ र संघीय समाजवादी फोरमले १० सिट जितेका छन्।

नयाँ शक्ति पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक एक सिट ल्याएका छन्।

तस्वीर कपीराइट EPA

एक जना सांसद स्वतन्त्र निर्वाचित भएका छन्।

प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना आधा भन्दा बढी सकिएको निर्वाचन आयोगले जनाएको छ।

बुधवार मध्यान्हसम्मको मतगणनामा एमालेले १९ लाख ८१ हजार, कांग्रेसले १८ लाख ९५ हजार र माओवादी केन्द्रले ७ लाख ६४ हजार मत ल्याएका छन्।

त्यसबाहेक संघीय समाजवादी फोरमले २ लाख ५१ हजार, राजपा नेपालले १ लाख ८३ हजार र राप्रपाले १ लाख ३२ हजार मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।

समानुपातिकतर्फ नै हालसम्मको गणनामा विवेकशील साझा पार्टीले १ लाख २२ हजार, नयाँ शक्ति पार्टीले ५६ हजार, राप्रपा (प्रजातान्त्रिक)ले ४४ हजार राष्ट्रिय जनमोर्चाले झण्डै ३५ हजार मत ल्याएका छन्।