'६ वटा प्रदेशसभामा वाम गठबन्धनको बहुमत पुग्ने'

  • 13 डिसेम्बर 2017
वामपन्थी विजय र्‍याली

केन्द्रमा रहने संघीय संसदमा वाम गठबन्धनको सहज बहुमत पुग्ने देखिंदै गर्दा सातवटा प्रदेशसभामध्ये ६ वटामा पनि उसैले सरकार बनाउन सक्ने हालसम्म उपलब्ध मतपरिणामले देखाएको छ।

५ वटा प्रदेशसभामा त वाम गठबन्धन दुई तिहाईको नजिक पुग्ने देखिन्छ।

‘संघीय/प्रादेशिक संसद सञ्चालन गर्न सवा ४ अर्ब’

चुनावपछि अस्थिरता: अन्त्य कि नयाँ अध्याय?

तर प्रदेश २ मा भने दुई मुख्य तराईकेन्द्रित दलहरुको मत जोड्दा सामान्य बहुमत नजिक पुग्ने देखिएको छ।

धमाधम

दोस्रो चरणको निर्वाचन भएको एक साता वित्दा बुधबारसम्म प्रतिनिधिसभा तथा प्रदेशसभा दुवैका प्रत्यक्ष तर्फका सबै परिणाम आइसकेको छ भने समानुपातिकतर्फ धमाधम मतगणना भइरहेको छ।

समानुपातिकको मतगणनाले पनि प्रारम्भिक प्रवृत्ति देखाउन भने थालेका छन्।

तिनमा आधारित रहेर हेर्दा प्रदेश २ बाहेक देशैभरि नेकपा एमाले पहिलो स्थानमा छ।

माओवादी केन्द्रसंग उसको गठबन्धनले त झन् ७ मध्ये ६ वटा प्रदेशमा सहज बहुमतको सरकार बनाउने देखिन्छ।

प्रदेश १, ३, ५, ६ र ७ मा गठबन्धन दुई तिहाई बहुमतकै नजिक पुग्ने देखिन्छ।

प्रदेश नम्बर १ र ३ मा एमाले एक्लैको बहुमत पुग्न सक्ने देखिन्छ भने प्रदेश नम्बर ४ मा चाहिं गठबन्धन सामान्य बहुमततर्फ अग्रसर छ।

अब ती प्रदेशमा मुख्यमन्त्री कसरी छानिएलान् त?

एमालेका नेता प्रदिप ज्ञवाली भन्छन्, "चाहे केन्द्रीय सरकार होस् वा प्रादेशिक सरकार होस्, चाहे प्रधानमन्त्री होस् वा मुख्यमन्त्रीऽ सबैको चयन हामीले सामूहिक समझदारीको आधारमा गर्नेछौं। एकताको भावना बमोजिम नै अहिलेसम्म अलग अलग पार्टीमा रहेका दुईवटै पार्टीका नेताहरुले प्रदेश सरकार र केन्द्रीय सरकारको गठनमा यथोचित जिम्मेवारी पाउनुहुनेछ।"

प्रदेश २ को चित्र

तराईका ८ जिल्ला रहेका प्रदेश नम्बर २ मा चाहिं गठबन्धन अगाडि छैन।

त्यहाँ प्रत्यक्षतर्फ संघीय समाजबादी फोरम २० सीट र राष्ट्रिय जनता पार्टी नेपाल १५ सीटका साथ पहिलो र दोस्रो स्थानमा छन् भने एमाले १४ सीटका साथ तेस्रो स्थानमा छ।

त्यहाँ जारी समानुपातिकतर्फको मतगणनाका अहिलेसम्म देखिएको प्रवृत्तिलाई केलाउँदा फोरम र राजपा मिलेमा सामान्य बहुमतको नजिक पुग्न सक्छन्।

प्रदेश २ मा प्रत्यक्षतर्फ कांग्रेस एमालेभन्दा पनि पछि छ, तर समानुपातिकतर्फ भने ऊ अग्रपंक्तिमै देखिन्छ।

त्यहाँको प्रदेशसभाको चित्र जस्तै एजेन्डा पनि अन्य प्रदेशको भन्दा फरक हुन सक्ने जनकपुरस्थित प्राध्यापक भोगेन्द्र झा बताउँछन्।

उनी भन्छन्, "अन्य ६ वटा प्रदेशको मूल एजेन्डा समृद्धि रहेको छ। तर यस प्रदेशमा त्यो केवल दोस्रो एजेन्डा हो। यहाँको प्रमुख मुद्दा त अधिकारको स्थापना नै रहेको छ। यसैको बलबाट उनीहरुले चुनाव जितेका हुन्।"

कांग्रेसले विगतमा राम्रै गर्ने गरेको तराईमा मात्र होइन पश्चिमका प्रदेशमा पनि खराब प्रदर्शन गर्‍यो।

सात नम्बर प्रदेशमा प्रत्यक्ष तर्फ कूल ३२ मध्ये ४ जनामात्र कांग्रेसका उम्मेदवारले जितेका छन्।

तर त्यहाँ समानुपातिकको मतगणनामा कांग्रेस अग्रपंक्तिमै रहेको छ।