“ट्रम्पका विपक्षीद्वारा अमेरिकालाई हानि”

  • 14 डिसेम्बर 2017
पुटिन तस्वीर कपीराइट Reuters

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनका अमेरिकी समकक्षी डोनल्ड ट्रम्पका विरोधीहरुले रुससँगको साँठगाँठबारे बनावटी कुराहरु गरेर अमेरिकालाई हानी पुर्‍याएको आरोप लगाएका छन्।

हरेक वर्षको अन्ततिर आयोजना गरिने पत्रकार सम्मेलन अन्तर्गत बिहीबार पुटिनले गत वर्ष भएको अमेरिकी राष्ट्रपतीय चुनावपूर्व ट्रम्पको चुनावी अभियान टोली र रुसी अधिकारीहरुबीचका सम्पर्कहरु सामान्य भएको टिप्पणी गरे।

अमेरिकी आरोपबाट पुटिन अपमानित: ट्रम्प

पुटिन र मबीच राम्रो छलफल भएको छः ट्रम्प

जी२०: ट्रम्प र पुटिन भेटघाट

व्यवहार

ट्रम्पलाई राष्ट्रपतिमा चुनेकाहरुलाई अमेरिकी विपक्षीले सम्मानपूर्वक व्यवहार नगरेको रुसी राष्ट्रपति पुटिनले बताए।

राष्ट्रपति ट्रम्पको चुनावी अभियान टोलीमाथि रुससँग साँठगाँठ गरेको भनिएको बारे अनुसन्धान भइरहेको छ।

राष्ट्रपतीय चुनावी नतिजा ट्रम्पको पक्षमा पार्नका लागि मस्कोले प्रयासहरु गरेको निष्कर्ष अमेरिकी गुप्तचर निकायहरुले निकालेका छन्, तर रुसी राष्ट्रपतिले त्यस्ता आरोपहरुको अस्वीकार गर्दै आएका छन्।

अनुसन्धानका बारे प्रश्न गरिंदा पुटिनले जवाफमा भने- यो सबै उनका कार्यहरुलाई अवैधानिक देखाउन ट्रम्पको विपक्षमा रहेकाहरुले बुनेका कुरा हुन्।

केही गम्भीर उपलब्धिहरुका लागि ट्रम्प जिम्मेवार रहेको तर रुससँग सम्बन्ध सुधार्ने स्थितिमा ट्रम्प नरहेको उनले भने।

सहकार्य

सहकार्यका लागि उत्तर कोरिया एउटा सम्भावित क्षेत्र रहेको पुटिनले बताए।

तर अमेरिकाका विगतका केही कार्यहरुले उत्तर कोरियालाई समझदारीको उल्लंघन गर्न उक्साएको र सबै पक्षहरु शान्त हुन आवश्यक रहेको उनले बताए।

यसअघि पुटिनले आगामी वर्षको मार्चमा हुने रुसी राष्ट्रपतीय चुनावी सभाबारे बोल्दै उनी चौथौ कार्यकालका लागि लड्ने बताए।

राष्ट्रपतीय चुनावका लागि बलियो प्रतिस्पर्धीको सामना उनले किन गर्नु नपरेको भन्ने प्रश्नमा पुटिनले जनताको जीवन सुधार्न विपक्षीहरु निश्चित प्रस्तावहरुका साथ आउन नसकेको बताए।

सो क्रममा पुटिनले विपक्षी नेता एलेक्सी नाभाल्नीको नाम उल्लेख गरेनन्।

तस्वीर कपीराइट Reuters

फौजदारी अभियोगमा दोषी ठहर गरिएका कारण नाभाल्नीलाई आगामी वर्ष हुने राष्ट्रपतीय चुनावमा उम्मेद्वारी दिनबाट रोक लगाइएको छ।

त्यसको जवाफमा नाभाल्नीले सामाजिक संजालको वेबसाईट ट्वीटरमा उनको हालै प्रकाशित चुनावी कार्यक्रमको एक लिङ्क राख्दै लेखेका थिए- "यसलाई आफ्नो ध्यानमा आउन नदिनका लागि धेरै कोशिश भइरहेको छ।

पत्रकार सम्मेलनका क्रममा उनको धाराप्रवाह बोलीका लागि पुटिन चिनिन्छन्।

कैयौँ घण्टासम्म चल्ने गरेका पुटिनका पत्रकार सम्मेलनमा यसपटक १६ सयभन्दा बढी पत्रकारहरु सहभागी भएका छन्।