ब्रिटिश लगानीकर्ता आशावादी

  • 15 डिसेम्बर 2017
तस्वीर कपीराइट NEPAL EMBASSY, LONDON
Image caption ब्रिटिश लगानीकर्ताहरुले प्रशासनिक ढीलासुस्ती हटाउन सुझाव पनि दिएका छन्

नेपालमा हालै सम्पन्न भएको आमचुनाव पछि स्थिर सरकार बनेमा त्यसले विदेशी लगानी भित्र्याउन सघाउने ब्रिटिश लगानीकर्ताहरुले विश्वास व्यक्त गरेका छन्।

तर उनीहरुले वाम गठवन्धनले अपनाउने नीतिहरुबारे थप स्पष्टता आवश्यक रहेको भन्दै प्रशासनिक ढीलासुस्ती हटाउन सुझाव पनि दिएका छन्।

नेपालमा पहिलोपटक संघीय संसद् तथा प्रदेश सभाहरुको चुनावपछि एउटा स्थिर सरकार बन्ने सम्भावना व्यक्त गरिएको छ।

विदेशी लगानी निम्त्याउन पनि त्यस्तो सरकार आवश्यक रहेको लगानीकर्ताहरुले बताएका छन्।

स्थिर सरकार

लण्डनस्थित नेपाली दूतावास तथा ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शले बिहीबार दूतावासमै आयोजना गरेको एक कार्यक्रममा ब्रिटिश लगानीकर्ताहरुले ढीलै भएपनि नेपालमा स्थिर सरकार बन्ने संभावना देखिएकोमा खुसी व्यक्त गरे।

तर उनीहरुले त्यसकालागि नयाँ बन्ने सरकारले कानूनको पालनामा ध्यान दिनुपर्नेमा जोड दिए।

ब्रिटेन नेपाल च्याम्बर अफ कमर्श (बिएनसिसि) का एकजना पूर्व अध्यक्ष एडम गिलक्रिस्टले भने, "नयाँ सरकार बन्नु गज्जबको कुरा हो। यदि बहुमतको सरकार बन्यो र त्यसले उसको नाममा गरिने भ्रष्टाचार जस्ता अभ्यासलाई रोक्न सक्यो भने त्यो निकै सकारात्मक हुनेछ।"

नेपालमा विगत २५ वर्षदेखि व्यापारिक सम्बन्ध रहेका एडमले द्वन्द्वकालमा र त्यसपछि पनि नेपालमा व्यवसायी र लगानीकर्ताहरुसंग चन्दा र जवर्जस्ती असुली गर्ने गरिएको गुनासो गरे।

तर अब नयाँ सरकार बनेपछि त्यस्तो प्रवृत्तिमा कमी आउने आशा लगानीकर्ताको छ।

ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजन कँडेलले भने, "पहिला नौ-नौ महिनामा सरकार ढल्थ्यो। थुप्रै अवसर गुमेको अवस्था थियो। तर अब स्थिर सरकार बनेपछि काम गर्न सजिलो हुन्छ। व्यापार र लगानी विस्तार गर्न पनि अब धेरै सजिलो हुने हामीले आशा गरेका छौं।"

तस्वीर कपीराइट NEPAL EMBASSY, LONDON
Image caption राजदूत सुवेदीले नेपाल सरकारले वैदेशिक लगानीलाई सँधै स्वागत गर्ने बताए

लगानी

ब्रिटिश लगानीकर्ताहरु नेपालमा जलविद्युत, पर्यटन, सेवा क्षेत्र आदिमा लगानी गर्न इच्छुक रहेको पनि उनले बताए।

तर जानकारहरु भन्छन्, व्यापार विस्तार वा नयाँ लगानी भित्र्याउन एउटा आवश्यक कुरा बन्द तथा हडताल नहुने प्रत्याभूति पनि हो।

स्वदेश तथा विदेशकै कतिपय लगानीकर्ताहरुले पनि वाम गठवन्धनले सरकार बनाएमा फेरि श्रमिक हडताल तथा औद्योगिक अशान्त‌ि हुने हो कि भन्ने आशंका व्यक्त गरेका छन्।

तर नयाँ सरकार बनाउन अग्रसर देखिएको वाम गठवन्धनका नेताहरुले श्रमिक तथा लगानीकर्ता दुबैको हकहित सुरक्षित गर्न आफुहरुले काम गर्ने बताउने गरेका छन्।

स्वागत

ब्रिटिश तथा भारतीय मूलका ब्रिटिश लगानीकर्ताहरुको सहभागिता रहेको सो गोष्ठीमा ब्रिटेनकालागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल सरकारले वैदेशिक लगानीलाई सँधै स्वागत गर्ने बताए।

उनले भने, "नेपालले केही वर्ष यता द्वन्द्व, राजनीतिक अस्थिरता, प्राकृतिक विपत्ती खेप्नु परिरहेको थियो । तर अब देश समृद्धिको बाटोमा अघि बढ्छ।"

ब्रिटेन नेपालको एक प्रमुख द्वीपक्षीय दातृ राष्ट्र हो भने विदेशी लगानीकर्ताहरुमध्ये उसको स्थान छैठौं रहेको छ।