'राजनीतिक विवाद मिलाउन ओली-प्रचण्ड सहमत'

  • 15 डिसेम्बर 2017
ओली र प्रचण्ड तस्वीर कपीराइट Prachandra secretariat

नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सरकार बनाउनु अघि राष्ट्रिय सभाको निर्वाचन अनिवार्य भए-नभएकोबारे साझा धारणा बनाउने सहमति भएको छ।

आफूहरु सहितको वाम गठबन्धनले ठूलो जीत हात पारेको निर्वाचनपछि दुबै दलका प्रमुखबीच शुक्रबार भेटवार्ता भएको थियो।

राजनीतिक विभाजन देखिएका पछिल्ला विषयमा एकमुष्ठ सहमति खोज्न दुबै नेता एक मत भएको बताइएको छ।

एमालेका कतिपय नेताहरुले नयाँ सरकार गठनको निम्ति राष्ट्रिय सभाको चुनाव जरुरी नभएको मत सार्वजनिक गरिरहेका बेला नेताद्वयबीच त्यसबारे कुराकानी भएको हो।

सरकार गठन

Image caption संघीय र छ ओटा प्रदेश चुनावमा वाम गठबन्धन ले जीत हासिल गरेको छ

अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाका अनुसार चुनावी परिणामलाई सम्मान गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनको बाटो खुला गरिदिनु पर्नेमा दुबै नेता एकमत भएका छन्।

तर राष्ट्रिय सभा गठनबारे दुबै दलबीच फरक मत रहेको संकेत गर्दै उनले भने, "त्यसबारे पनि साझा धारणा बनाउने कुरा भएको छ। राजनीतिक दलहरुबीच पनि कुराकानी होला। सबैको समझदारीमा निष्कर्षमा पुगिन्छ। कुनै ठोस निष्कर्षमा पुगिसकेको अवस्था छैन।"

प्रचण्डसँगको भेटपछि एमाले अध्यक्ष ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

खासगरी एमालेको ठूलो आपत्ति देखिएको राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेश राष्ट्रपतिले अझै जारी गरेकी छैनन्।

अन्तर सम्वन्धित

प्रधानमन्त्री देउवाले बिहीबार मात्रै राष्ट्रपतिलाई भेटेर उक्त अध्यादेश जारी गर्न आग्रह गरेका थिए।

ओलीको सचिवालयले राष्ट्रपतिसँगको भेट 'शिष्टाचार' मात्र भएको जनाएको छ।

उक्त विषयले राजनीतिक खिचातानी बढ्ने संकेत देखिएका बेला ओली-प्रचण्डबीच समग्र विषयमा एकसाथ सहमति खोज्ने कुरा भएको बताइएको छ।

प्रचण्डका प्रेस संयोजक तिमिल्सिनाले भने, "सबै कुरालाई प्याकेजमै टुंग्याउनु पर्छ। राष्ट्रियसभा गठन, त्यसको अध्यादेश र नयाँ सरकार एक अर्कासँग सम्बन्धित छन्। यी तीनवटै कुरालाई राजनीतिक समझदारीमा टुंग्याउने कुरा हुन्छ।"

'एकता हुन्छ'

ओली र प्रचण्डबीच पार्टी एकताको विषयमा पनि कुराकानी भएको थियो।

जसलाई प्रचण्डले 'अत्यन्तै सकारात्मक' ठानेको उनको सचिवालयले जनाएको छ।

तर चुनावी मत परिणामपछि कतिपय नेताका अभिव्यक्तिका कारण दुबै पक्षका कार्यकर्तामा एकतालाई लिएर संशय उत्पन्न भएको पाइन्छ।

एमाले उपाध्यक्ष वामदेव गौतमले भने बीबीसीसँग कुरा गर्दै एकतालाई निष्कर्षमा पु-याइने विश्वास व्यक्त गरेका छन्।