महिलाका लागि भारत कति सुरक्षित?

  • 16 डिसेम्बर 2017
भारत तस्वीर कपीराइट Getty Images

भारतको दिल्लीकी एक २३ वर्षिया विद्यार्थीको बलात्कार र हत्या भएको पाँच वर्ष पुगेको छ।

तर के भारत अहिले पनि महिलाका लागि सुरक्षित स्थल बनेको छ त?

१६ डिसेम्बर २०१२ मा एक युवती र उनका पुरुष साथी रातको ९ बजे लगत्तै बस चढेका थिए।

त्यसपछि उनलाई चालक र बसमा रहेका अन्य पाँच पुरुषले बलात्कार गरे।

उनीहरुले ती युवतीका पुरुष साथीलाई नराम्ररी कुटे।

उनीहरुलाई मरणासन्न हुने गरी नग्न र रगताम्मे अवस्थामा सडकछेउमा छाडियो।

केही बटुवाले फेला पारेपछि उनीहरुलाई अस्पताल पुर्याए र प्रहरीलाई खबर गरे।

उनको उपचारका क्रममा १५ दिनपछि मृत्यु भयो।

उनको पुरुष मित्र भने बाँच्न सफल भए तर जिन्दगीभर मनमा दाग लिएर।

स्तब्ध

उक्त घटनाको बर्बरताले पूरै भारतलाई स्तब्ध तुल्यायो।

भारतीय सञ्चारमाध्यमले ती युवतीलाई 'निर्भया' नाम दियो जसको अर्थ हो निडर।

तर मैले मेरो आफ्नै 'निर्भया'लाई चाहिँ त्यसको एक दशकभन्दा अघि नै भेटेको थिए जब म भारतमा बलात्कारसम्बन्धी एउटा रेडियो कार्यक्रम बनाउन लागिरहेकी थिएँ।

मध्य दिल्लीमा एउटा गैरसरकारी संस्थाद्वारा सञ्चालित आश्रयस्थलमा मैले उनलाई भेटेकी थिएँ।

उनी गुजरातको एउटा गरिब परिवारकी थिइन्।

उनी निश्चित ठेगाना नभएको घुमन्ते समुदायकी सदस्य थिइन्।

आफ्ना पति र सानो बच्चासँग उनी राजधानी आएकी थिइन्।

केही महिना उक्त दम्पत्तिले दैनिक ज्यालादारी मजदुरको रुपमा काम गर्यो।

एउटा भ्रमणको सिलसिलामा उनीहरु गुजरात फर्कदैं थिए।

तस्वीर कपीराइट Getty Images

एउटा रेलवे स्टेशनमा परिवारका सदस्य रेल चढिसकेपनि उनको रेल भने छुट्न पुग्यो।

त्यहाँ उनी रोइरहेका बेला एक जना दयालु जस्तो देखिने शिख पुरुषले सहयोगको प्रस्ताव गरे।

उनले आफू ट्रक चालक भएको र ती महिलालाई घर पुर्याइदिने बताए।

आफूसँग पैसा नभएकाले उनले त्यो प्रस्ताव स्वीकार गरिन्।

त्यसपछिका चार दिन उनलाई ट्रकमा घुमाइयो र ती चालक तथा अन्य तीन पुरुषले सामूहिक बलात्कार गरे।

भयानक

उनी मृत्युको मुखमा पुगेको ठानेर तिनीहरुले उनलाई सडकछेउमा छाडिदिए जहाँबाट उनलाई अस्पताल पुर्याइयो।

जब म उनलाई भेट्न गएकी थिएँ, उनलाई केही महिनाको उपचारपछि अस्पतालबाट लगिएको थियो।

उनको शरीर एउटा युद्धक्षेत्र जस्तो देखिन्थ्यो।

उनको भित्री अंगहरु यसरी क्षतिविक्षत भएका थिए कि उनी पेटबाट निस्केको पाइप लिएर हिंडिरहेकी थिइन् जसमा एउटा झोला झुण्डयाइएको थियो।

उनले आफ्नो स्तनमा पोलिएको दागहरु मलाई देखाएकी थिइन् जुन बलात्कारीहरुले चुरोटले पोलिदिएका कारण भएको थियो।

उनलाई आफ्नो परिवार कहाँ छ भन्ने थाहा थिएन।

उनलाई फिर्ता पठाउन गैरसरकारी संस्थाले गरेको प्रयास विफल भएको थियो।

मैले उनीसँग आधा घण्टाभन्दा बढी कुराकानी गरेँ।

उनको पीडा सुन्दा मानिस कतिसम्म निर्दयी हुनसक्छ भन्ने मनमा लागिरह्यो।

म स्तब्ध भए र जिन्दगीमा पहिलोपल्ट मैले डर महसुस गरे।

त्यसपछि मेरी बहिनी र मेरी एकदमै मिल्ने साथी जब म बसेको स्थानमा आउँथे र घर फर्कन्थे, म उनीहरुलाई घर पुगेपछि मोबाइलमा सन्देश पठाउन भन्थे।

तस्वीर कपीराइट Getty Images

उनीहरुले शुरुमा त्यसलाई हल्का रुपमा लिए र कतिपटक उनीहरु रिसाए पनि।

उनीहरुले खबर गर्न बिर्से भने म भोलिपल्ट बिहान उनीहरुलाई फोन गर्थे।

उनीहरुले कहिलेकाहिँ मेरो मजाक बनाउँथे।

र, १६ डिसेम्बर २०१२ को त्यो कहालीलाग्दो घटना भयो।

आघात

उक्त भयानक घटनाको प्रत्येक विवरण सञ्चारमाध्यमहरु आइरहँदा, त्यो मेरो आघात ताजा बनेर आयो।

'निर्भया'ले अस्पतालको शैयामा १५ दिनसम्म मृत्युसँग संघर्ष गरिरहिन्।

टेलिभिजन र पत्रपत्रिकाले उनीमाथि भएको ज्यादतीको सानोभन्दा सानो विवरण दिइरहेका थिए।

मेरो बहिनी र साथीले त्यसपछि मेरो मजाक उडाएनन्।

त्योमात्रै परिवर्तन थिएन।

सडकमा भएका व्यापक प्रदर्शनपछि सरकारले महिलाविरुद्धको हिंसासम्बन्धी नयाँ कडा कानून ल्यायो।

तर सबैभन्दा ठूलो परिवर्तन सोचमा भयो।

तस्वीर कपीराइट Getty Images

यौन दुर्व्यवहार र बलात्कार सबैको घरघरमा चर्चाको विषय बन्यो।

यौन र यौन हिंसाबारे कुरा गर्न वर्जित जस्तो ठानिने समाजमा त्यो ठूलो बदलाव थियो।

साना हुन् वा ठूला, सबै घटनाबारे छलफल गरिएको छ र लेखिएको छ।

परिवर्तन

सुरक्षित रुपमा बाँच्न पाउने महिलाको अधिकार र समानतामाथि अहिले सूक्ष्म नजर छ।

तर अपराधसम्बन्धी तथ्याङ्क राख्ने निकायका अनुसार, सन् २०१६ मा महिलाहरुमाथिको हिंसा बढ्दो क्रममा छ।

दाइजोको नाममा अझै हजारौं बेहुली मारिएका छन्, दशौं हजार महिला र केटीहरु बलात्कृत भएका छन्, घरेलु हिंसा र बालिका भ्रूण हत्याका सयौं हजार घटना अझै पनि भएका छन्।

गत सातामात्रै एउटा छ वर्षिया बालिकाको बलात्कार, यातना र हत्याको घटना भयो।

क्यान्सर रोगको लडाइँमा जितेकी १६ वर्षिया युवतीको सामूहिक बलात्कार भयो।

र, उडानका क्रममा विमानभित्र यात्रुले एक जना बलिवुड महिला कलाकारलाई यौन दुर्व्यवहार गरेको घटना प्रकाशमा आयो।

तर खुशीको कुरा के छ भने महिलाहरुले आफ्नो लडाइँ छाडेका छैनन्।

र, त्यसले नै भारतमा महिलाहरुको राम्रो भविष्यबारे आशा जगाएको छ।