आन्तरिक झगडा बन्द गरौं: जुमा

  • 16 डिसेम्बर 2017
जेकब जुमा तस्वीर कपीराइट Reuters

अफ्रिकी न्यासनल कंग्रेस-एएनसीको भावी नेतृत्व चयनका लागि आयोजित भेलामा बोल्दै दक्षिण अफ्रिकाका राष्ट्रपति जेकब जुमाले दक्षिण अफ्रिका र एनसी अहिले जटिल मोडमा रहेको बताएका छन्।

उनले एनसीको भविष्य जोखिमयुक्त भएको र भावी नेतासामू चुनौतीहरु रहेको बताए।

पाँच हजार प्रतिनिधि सहभागी भेलामा कस-कसले मतदान गर्न पाउने भन्ने विषयमा विवाद चर्किएको थियो।

दक्षिण अफ्रिकाको सत्तारुढ अफ्रिकी न्यासनल कंग्रेस एएनसीले राष्ट्रपति जेकब जुमाको स्थानमा नयाँ नेताको चयन गर्दैछ।

नयाँ नेतृत्वको आकांक्षीमा वर्तमान उपराष्ट्रपति सिरिल रामापोसा र र पूर्व मन्त्री एवं राष्ट्रपति जुमाकी पूर्व पत्नी न्कोसजाना द्लमिनी-जुमा रहेका छन्।

दुई जनामध्ये जो निर्वाचित हुन्छ उनी दक्षिण अफ्रिकाको भावी राष्ट्रपति हुने सम्भावना छ।

चिन्ता

तर नेतृत्वको तिक्ततापूर्ण होडबाजीले गर्दा सन् २०१९को राष्ट्रिय चुनाव अघि एएनसी टुक्रिनसक्ने चिन्तालाई बढाइ दिएको छ।

त्यो चुनाव सम्मका लागि राष्ट्रपति जुमानै राष्ट्र प्रमुख रहनेछन्।

जुमा सन् २००९ देखि राष्ट्रपति पदमा आसीन छन्।

तर दक्षिण अफ्रिकी राष्ट्रपतिले दुई वटा पाँच वर्षे कार्यकाल मात्र सम्हाल्न पाउने कानुनी व्यवस्था छ।

तस्वीर कपीराइट Reuters/AFP

जोहानेसबर्गमा पार्टीका ५,००० भन्दा बढी प्रतिनिधिहरु चार दिने भेलामा सहभागी हुँदै गर्दा जुमाले भ्रष्टाचारका कैयौं आरोप खेपिरहेका छन्।

उनले पार्टीलाई एक ढिक्का हुनका लागि आह्वान गरेका छन्।

नेतृत्वको लागि कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

राष्ट्रपति जुमाले चाहिँ आफ्नी पूर्व पत्नी ६८ वर्षिया द्लामिनी-जुमालाई समर्थन गरिरहेका छन्।

वरिष्ठ राजनीतिज्ञ मानिएको उनी गोरा जातिका व्यवसायीको दबदबाको कट्टर आलोचक रहँदै आएकी छन्।

उनका प्रत्यासी ६५ वर्षिय रामापोसाले चाहिँ सरकारी क्षेत्रमा हुने भ्रष्टाचार विरुद्ध आवाज उठाउँदै आएका छन्।

उनलाई व्यवसायीहरुले पनि समर्थन गरिरहेका छन्।

पार्टीको चुनावमा उनको अवस्था थोरै बलियो देखिएको भन्नेबारेका समाचार सार्वजनिक भएलगत्तै त्यसको सीधा असार हालै सकारात्मक गति लिएको वित्तीय बजारमा समेत देखिएको थियो।

आरोप

७५ वर्षिय राष्ट्रपति जुमा कैयौं विवादको केन्द्रबिन्दुमा रहँदै आएका छन्।

उनले संसदमा कैयौं पटक अविश्वासको मतको सामाना गरिसकेका छन्।

उनीविरुद्ध थुप्रै भ्रष्टाचारका आरोप लागेका छन् तर उनले तिनलाई अस्वीकार गर्दै आएका छन्।

दक्षिण अफ्रिकामा पहिलो प्रजातान्त्रिक चुनाव भएको २० वर्षयता एएनसीले नै देशको सत्ता सम्हालिरहेको छ।