आधा किलोमिटर सुरुङ खन्न 'सकस'

  • 17 डिसेम्बर 2017
मेलम्ची

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको कुल २७.५ किलोमिटर दुरीको सुरुङ मध्ये करिब २७ किलोमिटर सुरुङ खन्ने काम सकिनै लागेको अधिकारीहरुले बताएका छन्।

सुरुङ खन्न बाँकी आधा किलोमिटर मात्रै रहेपनि कमलो चट्टान भएकाले कठीन रहेको अधिकारीहरुको भनाइ छ।

राजधानीभित्र नौ ठाउँमा पानी भण्डारण स्थल निर्माण गर्ने भनिएकोमध्ये अब भक्तपुरमा मात्र धेरै काम बाँकी रहेको अधिकारीले बताएका छन्।

मेलम्चीबाट आएको पानी आपूर्ति गर्न सडकमा पाइप बिच्छ्याउने जिम्मा लिएको परियोजना कार्यान्वयन निर्देशनालयले पनि उसको काम ९० प्रतिशत सकिसकेको बताएको छ।

लक्ष्य

मेलम्ची खानेपानी आयोजना अन्तर्गत हाल अम्बाथान-सिन्धु र ग्याल्थुम-सिन्धु गरि दुई स्थानबाट सुरुङ् खन्ने काम भइरहेको छ।

मेलम्ची खानेपानी आयोजना समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटा भन्छन्, "अम्बाथान-सिन्धुमा १सय ३० मिटर लम्बाइ बाँकी छ। यसलाई डिसेम्बरभित्र छिचोल्ने प्रयास गरिरहेका छौं। अर्को चाहिँ ज्यानुवरीभित्र छिचोल्ने लक्ष्य लिएका छौं। २७.५ किलोमिटर सुरुङमध्ये अब हामीले २७ किलोमिटर जति सक्न लागेका छौं।"

ग्याल्थुम सिन्धुमा नरम चट्टान रहेकाले त्यहाँ सुरुङ खन्ने काम कठीन हुने अनुमान गरिएको छ।

परियोजनाले पहिलो चरण अन्तर्गत सुन्दरीजलमा साढे ८ करोड लिटर क्षमताको पानी जम्मा गर्ने पोखरी बनाउने काम सकिसकेको छ।

बाँकि

अघिल्लो महिना त्यसको परीक्षण समेत गरिएको थियो।

दोस्रो चरण अन्तर्गत साढे ८ करोड लिटर क्षमताकै अर्को पानी पोखरी बनाउने काम भने भर्खरै शुरु भएको कार्यकारी निर्देशक देवकोटाले बताए।

राजधानीबासीको घर घरमा पानी वितरण गर्न सडकमा पाइप बिच्छ्याउने काम दश प्रतिशत मात्र बाँकी रहेको मेलम्ची खानेपानी परियोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लिलाप्रसाद ढकाल बताउँछन्।

उनले भने, "७७ किलोमिटरमध्ये ६५ किलोमिटरको काम सकिइसकेको छ। अहिले जोड्ने र परीक्षण गर्ने काम भइरहेको छ।"

भण्डारण

आरुबारी, महांकाल, महाराजगञ्ज, बाँसबारी, बालाजु, खुर्सानीटार लगायतका स्थानमा पानी भण्डारण गर्ने पोखरी बनाउने काम पनि अन्तिम चरणमा रहेको बताइएको छ।

सुख्खा मौसममा राजधानीमा थप १७ करोड लिटर पानी ल्याउने भनी थालिएको 'राष्ट्रिय गौरव'को आयोजनाले राजधानीमा पानी वितरण गर्ने लक्ष्य पटक पटक सार्दै आएको छ।

यसपटक भने मार्च महिनासम्म पानी वितरण गर्ने लक्ष्य लिएको अधिकारीहरुले बताएका छन्।

सम्बन्धित सामग्री