गुजरातमा मोदी नै विजयतर्फ अग्रसर

  • 18 डिसेम्बर 2017
मोदीको विजय तस्वीर कपीराइट AFP

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी - बीजेपी उनको गृहराज्य गुजरातमा भएको विधानसभा चुनावमा पुनः विजयी हुने भएको छ।

तर उसले जितेको सिट संख्या भने विगतको तुलनामा घटेको छ।

निर्वाचन अधिकारीहरुका अनुसार मतगणना भइरहँदा बिजेपीले १८२ विधानसभा सिट मध्ये ९९ वटामा अग्रता लिइरहेको छ।

मुख्य विपक्षी दल कांग्रेस भने ७७ सिटमा अगाडि छ।

कांग्रेसले बीजेपीसँग पराजित भएको स्वीकारेको छ।

लगातार जित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल सत्ताधारी भारतीय जनता पार्टी- बीजेपी उनको गृहराज्य गुजरातमा छैठौँ पटक चुनिदैँ छ।

हिमांचल प्रदेशमा भएको विधानसभा चुनावमा पनि बीजेपी ६५ सिटमध्ये ४४ वटामा अगाडि रहेको छ। त्यहाँ कांग्रेस २१ सिटमा मात्र अग्रस्थानमा छ।

सामाजिक संजालको वेबसाईट ट्वीटरमा सन्देश राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीले दुवै राज्यका मतादाताहरुलाई धन्यवाद दिएका छन्। उनले आर्थिक विकासको सुनिश्चितता व्यक्त गरेका छन्।

बीजेपीका अध्यक्ष अमित शाहले पार्टी मुख्यालय दिल्लीमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा बोल्दै चुनावी परिणामले विकासको राजनीतिको विजयतर्फ संकेत गरेको बताए।

मतसर्वेक्षणहरुले बीजेपीको बहुमत विपक्षी गठबन्धनका कारण जोखिममा रहेको देखाएका थिए।

सन् २०१२ मा गुजरातमा भएको चुनावमा बीजेपीले ११६ सिट जितेको थियो भने कांग्रेसले ६१ सिट जितेको थियो।

कारण

सोमबार बिहान प्रारम्भिक नतिजाहरुमा कांग्रेसले अग्रता लिएपछि स्टक बजारहरुमा गिरावट आएकोमा पछि ती सम्हालिएका थिए।

मोदी तीन पटकसम्म गुजरातका मुख्यमन्त्री भएका थिए र सो राज्यमा उनले गरेका कार्यहरुले राष्ट्रिय चुनावमा उनलाई सफलता तर्फ डोर्‍याएको बताइएको थियो। विधानसभा चुनावमा हारको सामना गर्नुपरेको भए उनको लागि त्यो अपमानजनक हुने थियो।

नोभेम्बर २०१६ मा ५०० र १००० दरका नोटहरुमा प्रतिबन्ध लगाउने प्रधानमन्त्री मोदीको निर्णय र हालै ल्याइएको वस्तु तथा सेवासम्बन्धी कर लागू गरिएको तरिकाले गुजरातमा उनको दल विरुद्ध आक्रोश बढाएको ठानिएको थियो।

यो चुनाव बीजेपीले गुजरातमा हालसम्म उनीहरुले लडेको चुनावमध्ये सबैभन्दा कठिन भएको बीजेपीका विधानसभा सदस्य आर बाला ले रोयटर्स समाचार संस्थालाई बताए।

विपक्षी दल कांग्रेसका राहुल गान्धीले भने यो चुनाव जित्ने राम्रो अवसर गुमाएको धेरैले ठानेका छन्।