अवसर छोप्दै नयाँ पुस्ता

  • 20 डिसेम्बर 2017
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
घट्दै सेनाको आकर्षण

धरानमा जन्मिएका राजीव राई ब्रिटिश सेनामा कार्यरत आफ्ना बुवा हर्कराम राईसँगै ब्रुनाइ आए। उनले त्यहाँ प्राथमिक शिक्षा हासिल गरे। तर आफ्ना पिताको अन्यत्र स्थानान्तरण भएपछि उनी फेरि नेपाल फर्किए।

सन् २००५ मा ब्रिटिश सेनाबाट सेवा निवृत्त हुनासाथ बुवा ब्रिटेन आएपछि बुवाआमासँगै राजीव पनि लण्डन आए र यहींबाट जीसीएसइ उत्तीर्ण गरे।

सन् २०११ मा इम्पेरियल कलेजबाट बायोकेमिस्ट्रीमा 'बिएस्सी अनर्स' गरेका राजीवले सन् २०१२ मा सोही कलेजबाट बायोकेमिकल रिसर्चमा 'मास्टर्स' गरे।

उनले गत वर्ष ग्रीनिच विश्वविद्यालयबाट 'भाइसचान्सलर स्कलरसीप' मा मानिसको शरीरको प्रतिरक्षा प्रणालीबारे विद्यावारिधि गरे।

अनुसन्धान

कालाजारको संक्रमण भएको बेला मानव शरीरले कस्तो प्रतिकृया जनाउँछ? भन्नेबारे अध्ययन गरेका राजीव अहिले युनिभर्सिटी कलेज अफ लण्डन अन्तर्गत ग्रेट अर्मण्ड स्ट्रीट हस्पिटलको इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा शिशुहरुको प्रतिरक्षा प्रणालीसँग सम्बन्धीत स्टेम सेल र जीन थेरापीबारे अनुसन्धान गरिरहेका छन्।

प्रा. एड्रियन थ्र्याशरको नेतृत्वमा भैरहेको सो अनुसन्धानले बालबालिकाहरुमा क्यान्सरको कारक ठानिने टी सेलबारे पनि खोज गरिरहेको छ।

"सानैदेखि पढाइलेखाइमा मेरो समय बित्यो। कलेज शुरु गरेदेखि नै अध्ययन र अनुसन्धानमा संलग्न भएकाले ब्रिटिश सेनामा भर्ती हुनेबारे मैले सोच्न भ्याइनँ," आफ्ना बुवा, आमा र बहिनीसंगै उत्तरपश्चिम लण्डनस्थित बर्न्टओकमा बसोबास गर्ने २८ वर्षीय राजीवले भने।

भूतपूर्व गोर्खा

Image caption ब्रिटेनमा हुर्किएका युवाहरुले यहाँ थुप्रै अवसरहरु रहेको बताए

२५ वर्षीय तपस गुरुङ पनि एक भूतपूर्व गोर्खा सैनिकका छोरा हुन्।

हाल उनी फार्नबरोस्थित जीनर्जी लिमिटेड नामक कंपनीमा कार्यरत छन्।

ब्रिटिश सेनाबाट अवकाशप्राप्त गोर्खा सैनिकहरुले नै सन्चालन गरेको यो कम्पनीले ठूला ब्रिटिश कम्पनीहरुसँग थोकमा ग्यास किनेर आफ्ना ग्राहकहरुलाई बिक्री गर्दछ।

"वास्तवमा जो पनि सैनिक पृष्ठभूमिका लाहुरेका छोराछोरीजस्तै सानो हुँदादेखि नै म पनि लाहुरे बन्छु भन्ने मानसिकता बोकेर बसेको थिएँ। तर जति ठूलो हुँदै गयो त्यति धेरै अवसरहरु मैले देखें। त्यो हेर्दाखेरि शायद सैनिक जीवन मेरो लागि हैन कि जस्तो लाग्यो," तपसले भने।

तपस गुरुङजस्तै अम्बिका सेन पनि एक भूतपूर्व गोर्खा सैनिककी छोरी हुन्।

"मेरो बुवामात्रै हैन, हजुरबुवा र जिजुबुवा पनि भूतपूर्व गोर्खा सैनिक हुनुहुन्थ्यो। मेरो पति पनि ब्रिटिश सेनामा काम गर्नुहुन्छ, तर ब्रिगेड अफ गोर्खाजमा हैन," उनले भनिन्।

मनोविज्ञानमा स्नातक र शिक्षा विषयमा स्नातकोत्तरसम्मको पढाइ पुरा गरेपछि अम्बिका अहिले अल्डरशटस्थित मार्लबरो इन्फ्यान्ट विद्यालयमा पढाइ रहेकी छिन्।

उनले आफ्ना साथीहरु विभिन्न क्षेत्रमा काम गरिरहेका बताइन्।

धेरै अवसर

"युकेमा धेरै अवसरहरु छन्। मेरा साथीहरु नर्स, प्रहरी अधिकृत तथा सोलिसिटरको रुपमा पनि काम गरिरहेका छन्," उनले भनिन्।

नेपालमै जन्म‌िएका अर्का युवा सुवास पुन अहिले फार्नबरोमा नेपालीहरुले सन्चालन गरिरहेको पीपल मोर्गेज कंपनीमा मोर्गेज सल्लाहकारको रुपमा काम गरिरहेका छन्। पोर्टस्मथ विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका उनले परिवारका सबैजना सेनामा संलग्न रहेकाले पनि छुट्टै क्षेत्रमा काम गर्न आफुलाई इच्छा लागेको बताए।

Image caption राजीवले अहिले स्टेम सेल र जीन थेरापीबारे अनुसन्धान गरिरहेका छन्

राजीव, तपस, सुवास र अम्बिकाजस्ता गोर्खा सैनिक परिवारका नयाँ पुस्ताका युवायुवतीहरुले ब्रिटेनमा उच्च शिक्षाको अवसर पाएका छन् र उनीहरु परंपरागतरुपमा सेनामा भर्ती हुनुभन्दा विभिन्न पेशा र व्यवसाय अँगाल्न थालेका छन्।

ब्र‌िटेनले नेपालीहरुलाई आफ्नो सेनामा भर्ती गर्न थालेको २०० वर्ष पुरा भइसक्यो।

कम्तीमा चार वर्ष आफ्नो सेनामा काम गरेका गोर्खा सैनिकहरुलाई आफ्नो मुलुकमा बसोबास गर्न दिने ब्रिटिश सरकारको सन् २००९ को निर्णय पछि अहिले हजारौं गोर्खा सैनिक परिवारहरु ब्र‌िटेनमा बसोबास गरिरहेका छन्।

प्राथमिकता

'ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी'सँग संबद्ध भूतपूर्व गोर्खा सैनिक प्रकाश गुरुङका अनुसार भूतपूर्व गोर्खा सैनिकहरुकालागि सबैभन्दा पहिलो प्राथमिकता भनेको आफ्ना छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिनु नै हो।

"तपाईंले कुनैपनि गार्खा परिवारलाई किन युके आएको भनेर सोध्नुभयो भने 'हामी हाम्रा नानीहरुको भविष्यकालागि यहाँ आएको' भन्नुहुन्छ। समग्रमा यहाँ हाम्रा नानीहरुको प्रगति एकदमै राम्रो देखिन्छ," उनले भने।

ब्रिटेनमा गोर्खा सैनिकहरुलाई निकै सम्मानका साथ हेरिन्छ भने नेपालमा त गोर्खा सैनिकमा भर्ती हुन हजारौं युवाहरु हरेक वर्ष कडा मेहनत गर्छन्।

भेदभाव

सन् १९९७ भन्दा पहिले ब्रिटिश सेनाबाट सेवानिवृत्त भएका गोर्खा सैनिक र तिनका संगठनहरुले पेन्सन लगायतका विषयमा आफुहरुप्रति भेदभाव भएको भनी लामो समयदेखि कानुनी तथा कूटनीतिक लडाईं लडीरहेका छन्।

तर ब्रिटिश सरकारभने भूतपूर्व गोर्खा सैनिकहरुप्रति त्यस्तो कुनै भेदभाव नभएको बताउँछ।

नेपालमा गोर्खा सैनिक भर्तीप्रतिको आकर्षण कायमै रहँदा ब्रिटेनमै भने थुप्रै अवसरहरु पाइरहेका भूतपूर्व गोर्खा सैनिककै छोराछोरीहरुलाई सेनाको जागीर पहिलो प्राथमिकतामा देखिंदैन।