दुई मूर्धन्य स्रष्टाको निधन

  • 21 डिसेम्बर 2017
चन्द्रराज शर्मा श्रद्धाञ्जली
Image caption दिवंगत संगीतकार चन्द्रराज शर्मालाई भावविव्हल कलाकर्मीहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए

म मरे पनि मलाई मेरो देशको माया छ

छाती भरी मुरीका मुरी नेपालको माया छ

म मरे पनि मलाई...

बिहीबार दिउँसो पशुपतिको आर्यघाटमा सामूहिक रुपमा यो गीत गाउँदै गर्दा थुप्रै कलाकर्मीका आँखामा आँसु देखिन्थे।

भर्खरै दिवंगत भएका संगीतकार चन्द्रराज शर्माले संगीतबद्ध गरेको गीत गाएर भावविव्हल कलाकर्मीहरु उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका थिए।

चन्द्रराज शर्मा र प्रेमा शाह नेपाली संगीत र साहित्यका यी दुई स्रष्टाको निधनको खबरले धेरै नेपाली संगीत र साहित्यप्रेमीलाई मर्माहत तुल्याएको छ।

गीति नाटकमा पोख्त

'नेपाल कला भूषण'ले विभूषित ८९ वर्षीय चन्द्रराज शर्मा लामो समयदेखि मधुमेहबाट पीडित थिए।

सुगम संगीतको स्वर्ण युग मानिने समयका एक प्रतिनिधि पात्र शर्माको मुख्य विधा गीति नाटक थियो।

सांस्कृतिक संस्थानमा आफ्नो जीवनको लामो कालखण्ड बिताएका शर्माले संगीतबद्ध गरेका 'मुनामदन', 'कुञ्जिनी' र 'शाकुन्तल' जस्ता गीति नाटक निकै लोकप्रिय बनेको अभिनेता हरिहर शर्माले बताए।

शर्मासंग सांस्कृतिक संस्थानमा धेरै वर्ष सहकार्य गरेका हरिहर शर्माले भने, "उनी नेपाली संगीत क्षेत्रका अतुलनीय प्रतिभा थिए। उनले संगीतबद्ध गरेको 'मुनामदन' नेपालको सबैभन्दा लोकप्रिय गीतिनाटक बनेको थियो, त्यसले ठूलो प्रसिद्धि कमाएको थियो। संगीत क्षेत्रका त्यस्ता जाज्वल्यमान नक्षत्र भनौं वा ध्रुवतारा नै भनौं, उनलाई गुमाउँदा नेपालक संगीत क्षेत्रले मात्रै होइन सिंगो राष्ट्रले नै धेरै चीज गुमाएको छ।"

शास्त्रीय र आधुनिक

नारायणगोपाल, माणिकरत्न, भक्तराज आचार्य जस्ता गायकले शर्माका गीतमा स्वर भरेका छन्।

शर्माले थोरै मात्रै फुटकर गीतमा संगीत दिएता पनि 'हामी नदीका दुई किनारा' जस्ता ती गीत कालजयी मानिन्छन्।

शर्माले नेपालको पहिलो रंगीन चलचित्र 'कुमारी'का गीतलाई संगीतबद्ध गरेका थिए, र 'मनमा माया, तनमा माया' लगायतका ती गीत आजपर्यन्त लोकप्रिय छन्।

सानैदेखि शास्त्रीय संगीतमा भिजेका 'संगीत शिरोमणि' यज्ञराज शर्माका सुपुत्र शर्माको आधुनिक संगीतमा पनि उत्तिकै दखल रहेको संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बाँस्कोटाले बताए।

उनले भने,"शास्त्रीय संगीतमा पारंगत भएतापनि चन्द्रराज शर्मालाई सुगम संगीतका पर्यायवाची मानिन्छ। सुमधुर संगीतका लागि हामी उनलाई सम्झिन्छौं।"

ख्याति

आफ्नो समयमा निकै ख्याति कमाएता पनि पछिल्लो समयमा शर्मा ओझेलमा परेजस्ता थिए।

५८ वर्षको उमेरमा सांस्कृतिक संस्थानबाट अवकाश प्राप्त गरेपछि उनी सार्वजनिक जीवनबाट टाढा नै बसेको हरिहर शर्माले बताए।

नेपाली संगीत क्षेत्रमा उनको योगदानको सही मूल्यांकन अझै भइनसकेको ठम्याई छ सांस्कृतिक संस्थानका कार्यक्रम शाखा प्रमुख प्रभाकर देव शर्माको।

नाट्यकर्मी प्रभाकरले चन्द्रराजको संगीतमा गीति नाटक 'मुनामदन'मा मदनको भूमिकामा अभिनय समेत गरेका थिए।

'मुल्यांकन हुन बाँकी'

प्रभाकर देव शर्माले भने,"चन्द्रराज शर्माको मार्मिक संगीतमा अभिनय गर्न पाउँदा आँसु झार्न कहिल्यै मेहनत गर्नु परेन। भावनामा बगेर बरर आँखाबाट आँसु आउँथ्यो।"

"त्यति मात्रै होइन, चन्द्रराज शर्माले जीवनको प्रमुख समय बिताएको सांस्कृतिक संस्थानमा उनका थुप्रै गीतहरु अझै कैद छन्। नारायण गोपालले गाएका गीत, भक्तराज आचार्यले गाएका भजन, कतिपय त श्रोताले आजसम्म सुनेका छैनन्। ती गीतलाई सार्वजनिक गर्न सकियो भने मात्रै चन्द्रराज शर्मालाई श्रद्धाञ्जली दिएको मान्न सकिन्छ।"

बिहीबार काठमाण्डुको आर्यघाटमा सुगम र शास्त्रीय संगीतका यी प्रसिद्ध हस्तीको अन्त्येष्टि गरिएको छ।

'साहसी कथाकार'

त्यो वियोगको खबर संगै विद्रोही चेतनाका लागि प्रसिद्ध साहित्यकार प्रेमा शाह पनि सदाका लागि बिदा भएकी छिन्।

केही समयदेखि अमेरिकामा बस्दै आएकी साहित्यकार शाहका 'पहेंलो गुलाफ' र 'विषयान्तर' लगायत थुप्रै कथासंग्रह प्रकाशित छन्।

बालकथा तथा यौन मनोविज्ञानमा आधारित कथाका लागि चिनिएकी शाहलाई साहसी लेखिका मान्दछन् वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे।

उनले भने, "आख्यानको क्षेत्रमा उनी एक सशक्त नारी हस्ताक्षर हुन्।"

सशक्त

घिमिरेले भने, "उनले ज्यादै नै राम्रा, सशक्त, अविस्मरणीय र पाठकलाई प्रेरित गर्ने किसिमका कथा लेखेकी छिन्। खासगरी त्यो जमानामा रतिरागात्मक विषयमा कथा लेख्नु उनको साहस मानिन्थ्यो। उनको एउटा कथाको शीर्षक थियो 'लोग्ने'। र कतिपय कार्यक्रममा मानिसहरु 'प्रेमा शाहको लोग्ने' भनेर उनकै अगाडि पनि भन्थे। उनी त्यसलाई साहसका साथ जवाफ दिन्थिन्। त्यो साहसले नै उनलाई एक जीवन्त कथाकारका रुपमा उभ्याएको म ठान्छु।"

यसरी बिहीबार एकैदिन नेपालको कला र साहित्य जगतले दुई मूर्धन्य स्रष्टा गुमाएको छ।

शर्माका कालजयी संगीत र शाहका विद्रोही चेतना भने श्रोता र पाठकका माझ बाँचिरहने छन्।