देउवा-प्रचण्ड भेट: ‘संवाद गर्न सरकार तयार’

  • 21 डिसेम्बर 2017
देउवा-प्रचण्ड तस्वीर कपीराइट PM secretariat

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान अनुरुप जतिसक्दो चाँडो सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको बताउँदै संवैधानिक विवाद नझिक्न वाम गठबन्धनलाई आग्रह गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटमा उनले त्यस्तो आग्रह गरेका हुन्।

कांग्रेस र नेकपा एमालेका नेताबीच दूरी बढ्दै गएको देखिएका बेला प्रचण्डले एक साताभित्र दोस्रो पटक देउवासँग बिहीबार छलफल गरेका थिए।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार 'संसद्‌मा प्रतिनिधित्व गर्ने दल सत्ता वा प्रतिपक्ष जहाँ रहेपनि सहकार्य हुनुपर्ने' प्रचण्डको प्रस्तावमा देउवाले समर्थन जनाएका थिए।

संवाद

उनले भने, "प्रधानमन्त्रीले पाँचवटै दलबीच छलफलको वातावरण बनाउँछु। हामी छिट्टै बसौँला भन्नुभयो।"

उनका अनुसार राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेशलाई लिएर देखापरेको विवादमा नअल्झिएर अन्य प्रक्रिया अघि बढाउनेमा दुवै नेता एकमत भएका छन्।

प्रचण्ड अध्यादेशअघि बढाउन लचिलो बनेको सत्तापक्षको बुझाइ पाइन्छ।

त्यसबारे विस्तृत जानकारी नभएको प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाले बताए।

Image caption पछिल्ला दिनमा देउवा र ओलीबीच संवादहीनता र दुवै नेताको दलबीच कटुता देखिन्छ

उनले भने, "तर अध्यादेश राजनीतिक कुरा भएकाले त्यसमा राजनीतिक सहमति खोज्नुपर्ने पार्टीको धारणा अध्यक्षले प्रधानमन्त्री समक्ष राख्नुभयो।"

कांग्रेस र भावी सरकार नेतृत्वको हकदार देखिएको एमालेबीच चरम कटुता देखापरेको छ।

लचिलो

कतिपय एमाले नेताले नयाँ सरकार गठनको निम्ति बाटो खुला गर्न प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने तर्क गर्दै आएका छन्।

तर एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्ति केही लचिलो खालको थियो, "सरकारको अभिव्यक्ति र गतिविधिमात्र अनुचित छ। नयाँ सरकार गठनमा त्यसले व्यवधान गरेको भनेको हैन। किनकि समानुपातिक चुनावको परिणाम आउन बाँकी छ।"

नयाँ सरकार गठन समयअघि पनि गर्न नसकिने, न त्यसलाई पछि धकेल्न पनि नसकिने उनको भनाइ थियो।

तर सरकार र एमालेले आ-आफ्नै अडान छाडेको देखिन्न।

उनीहरुबीच संवादको ढोका खुल्ने संकेत देखिएसँगै त्यहीँबाट राजनीतिक निकास फेला पार्ने कतिपयको आकलन छ।