'कानुनको दायराभित्र मात्र वार्ता सम्भव'

तस्बिर स्रोत, AFP
स्पेनी प्रधानमन्त्री मारिआनो राखोईले क्याटलोनियाको क्षेत्रीय सरकारको नेतृत्व जो सुकैपनि कानुनको दायरामा रहेसम्म उनीहरुसँग वार्ता गर्न आफू तयार भएको बताएका छन्।
बर्खासीमा परेका स्वतन्त्रता पक्षधर क्याटलान नेता कारलस पूज्डमोन ती व्यक्ति हुन् कि भन्ने प्रश्नमा राखोईले एकता पक्षधर दल सिटिजन्स पार्टी बिहीबार भएको क्षेत्रीय चुनावमा विजयी भएको जवाफ दिएका थिए।
त्यसअघि स्वनिर्वासनमा बेल्जियममा रहेका स्वतन्त्रता पक्षधर नेता पूज्डमोनले भने क्याटलोनिया संकटको राजनीतिक समाधानका निम्ति छलफलहरु गर्न स्पेनी प्रधानमन्त्री मारिआनो राखोईलाई आह्वान गरेका थिए।
उनले चुनावमा स्पेन पराजित भएको बताउँदै भने, "अब प्रष्ट भएको छ। स्पेन सरकारले जे गरेपनि, जतिसुकै दमन गरेपनि, जति प्रहरी हिंसा गरेपनि अब हामी धेरै नै बलियो रहेको प्रष्ट भएको छ।"
बिहीबारको चुनावमा पृथकतावादी दलहरुले बहुमत कायमै राखेपछि पूज्डमोनको नेतृत्वमा सरकार गठन हुन सक्ने देखिएको छ।
प्रस्ताव
क्याटलोनियाका बर्खास्त पृथकतावादी नेता कारलेस पूज्डमोनले क्याटलोनियामा समयअगावैमा भएको क्षेत्रीय चुनावपछि स्पेनसँग नयाँ वार्ताहरु गर्नका लागि प्रस्ताव राखेका छन्।
ती नयाँ वार्ताहरु हाल उनी स्वनिर्वासनमा रहेको ब्रसल्समा वा अन्य कुनै ईयू सदस्य राष्ट्रमा होस् भन्ने उनले चाहेको बताए।
स्पेनी सरकारले भने आगामी कदमहरु बारे छलफल गरिरहेको छ।
स्पेनबाट क्याटलोनिया स्वतन्त्र भएको एकपक्षीय घोषणा गरेपछि मड्रिडस्थित केन्द्र सरकारले क्याटलान सरकार र संसद् भंग गरिदिएको थियो र त्यहाँ प्रत्यक्ष शासन लागू गरेको थियो।
त्यसपछि मड्रीडले नयाँ क्षेत्रीय चुनाव घोषणा गरेको थियो।
चुनावबाट स्पेनी प्रधानमन्त्री राखोईले स्थायीत्व कायम गर्ने आशा गरेका थिए, तर स्पेनको राजनीतिक गतिरोध जारी नै रहने देखिन्छ।
उनको परम्परावादी पपुलर पार्टीले बिहीबार भएको चुनावमा हालसम्मकै खराब नतिजा ल्याएको छ।
तर क्याटलोनिया स्पेनमै रहनुपर्छ भन्ने एकता पक्षधर दल सिटिजन्स पार्टी भने नयाँ चुनावबाट सबैभन्दा ठूलो दल बन्न पुगेको छ।
छानविन
यद्यपि क्याटलोनियमा सरकार गठनका लागि कसलाई अधिकार दिइनेछ भन्ने स्पष्ट छैन।
राखोईले भने कानुनको दायरामा रहन्छन् भने जो सुकैले क्याटलन सरकारको नेतृत्व लिएपनि वार्ता गर्न आफू तयार भएको बताएका छन्।
बर्खासीमा परेका पूज्डमोन क्याटलान सरकारका प्रमुखको पदमा पुनः चयन हुन त सक्छन्, तर स्वेदश फर्किए पक्राउ पर्न पनि सक्नेछन्।
देशद्रोह र विद्रोह गरेको आरोपमा उनीमाथि छानबिन जारी छ।