चीन: पानी र जमिनमा अवतरण गर्ने विश्वकै ठूलो विमानको उडान

  • 24 डिसेम्बर 2017
चिनियाँ विमान तस्वीर कपीराइट EPA

चीनमा जमीन र पानी दुवैमा अवतरण तथा उडान गर्न सक्ने संसारकै सबैभन्दा ठूलो विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक पूरा गरेको छ।

लगभग बोइङ ७३७ को आकारको उक्त एजी६०० विमानमा चारवटा 'टर्बोप्रप' इन्जिन छन्।

विमानले ५० यात्रु बोक्न सक्ने र १२ घण्टासम्म उड्न सक्ने बताइएको छ।

यो विमान आगलागी नियन्त्रण तथा सामुद्रिक दुर्घटनाहरुमा उद्धारका लागि प्रयोग हुने बताइएको छ।

सैन्य प्रयोग

तर यसको सैन्य उपयोगिता पनि छ।

यो विवादित साउथ चाइना सी क्षेत्रमा पनि प्रयोगमा आउन सक्ने ठानिएको छ।

'कुनलोङ्' नाम दिइएको उक्त विमान सो क्षेत्रमा चीनले आफ्नो भाग भनी दावी गरेको सबैभन्दा दक्षिणी कुनासम्म पुग्न सक्छ।

सरकारी सञ्चारमाध्यम सिन्ह्वाले उक्त विमानलाई समुद्र र द्वीपहरुको 'संरक्षक'का रुपमा चित्रण गरेको छ।

साउथ चाइना सीसम्बन्धी चिनियाँ नीतिको विभिन्न छिमेकी मुलुकहरुले प्रतिवाद गरेका छन्।

राष्ट्रसंघ समर्थित एउटा न्यायाधिकरणले साउथ चाइना सीको अधिकांश क्षेत्रमाथिको चिनियाँ दावी गत वर्ष खारेज गरिदिएको थियो।

विशाल

दक्षिणी प्रान्त ग्वाङडोङबाट विमानले उडान भरेको सरकारी टेलिभिजनमा प्रत्यक्ष देखाइएको थियो।

फर्कदाँ उक्त विमानलाई सैनिक धुनसँगै मानिसहरुले झण्डा हल्लाएर स्वागत गरेका थिए।

विमान बनाउन आठ वर्ष लगाइएको थियो।

त्यसले साढे ५३ टनसम्मको भार लिएर उड्न सक्नेछ।

विमानको पखेटाको एउटा कुनाबाट अर्कोसम्मको दूरी करिब ३९ मिटर अर्थात् १२७ फिट छ।

चीनभित्रबाटै त्यस्ता खाले १७ वटा विमान मगाइएका छन्।

एजी६००, आफ्नो प्रकारको विमानमध्ये अहिलेको समयको सबैभन्दा ठूलो हो तर अर्बपति होवार्ड ह्युजको प्रख्यात उड्ने डुंगा त्योभन्दा ठूलो थियो।

'द स्प्रुस गुज' अर्थात् 'ह्युज एच-फोर हर्कुलिस'को पखेटा साढे ९७ मिटर लामो थियो।

तर त्यसले सन् १९४७ मा एकपटक मात्रै उडान गरेको थियो र त्यो जम्मा २६ सेकण्डको थियो।

त्यसपछि त्यो कहिले उडेन र अहिले त्यसलाई ओरेगोनको संग्रहालयमा राखिएको छ।

सम्बन्धित सामग्री