रुसी चुनाव: नभाल्नीलाई 'पर्याप्त समर्थन'

  • 24 डिसेम्बर 2017
एलेक्से नभाल्नी तस्वीर कपीराइट Reuters

रुसका विपक्षी राजनीतिज्ञ एलेक्से नभाल्नीले मार्चमा हुने राष्ट्रपतीय चुनाव लड्न आफूले पर्याप्त समर्थन पाएको र आफूलाई भाग लिन नदिइए चुनाव बहिष्कारको अभियान थाल्ने चेतावनी दिएका छन्।

हिमपात भएको मस्कोको नदी किनारमा बनाइएको एक विशाल पालभित्र आयोजित कार्यक्रममा बोल्दै नभाल्नीले पुटिनको राष्ट्रपतिकाल कुनै विपद् जस्तै भएको बताए।

उनले पुटिनले रुसलाई व्यक्तिगत लाभको स्रोत बनाएको बताए।

उनले भने, "त्यो व्यक्ति तपाईँ भ्लादिमिर पुटिन नै हो, जसले यो देशलाई आफ्नो, आफ्ना नातागोता र साथीहरुको व्यक्तिगत लाभको स्रोत बनाइरहनु भएको छ। त्यसैले तपाईँ यो देशको राष्ट्रपति हुने होइन।"

"तपाईँ खराब राष्ट्रपति हुनुहुन्छ जोसँग सकारात्मक कार्यक्रम नै छैन। आउने चुनावमा हामी तपाईँलाई चुनौती दिन गइरहेका छौं र हामीले जित्नेछौं।"

नभाल्नीको पक्षमा जनमत निर्माण गर्न आइतवार उनका समर्थकहरुले २० वटा शहरहरुमा भेलाको आयोजना गरेका थिए।

ती भेलामार्फत संकलित हस्ताक्षरले निर्वाचन आयोगमाथि दबाब बढाउन सकिने आशा नभाल्नीको छ।

केन्द्रीय निर्वाचन आयोगले नभाल्नी अनियमितताको मुद्दामा दोषी पाइएकाले उनी अयोग्य हुने बताइसकेको छ।

नभाल्नी चाहिँ त्यो मुद्दा राजनीतिक उद्देश्यले अभिप्रेरित भएको बताउँछन्।

'विकल्प'

उनका समर्थकहरु भन्छन्, ४१ वर्षिय नभाल्नीले मात्र राष्ट्रपति पुटिनलाई जोसेफ स्टालिनपछि सबैभन्दा लामो समयसम्म रुसको शासन सत्ता सम्हाल्ने नेता बन्न रोक्ने विश्वसनीय क्षमता राख्दछन्।

पुटिन चाहिँ आगामी चुनावमार्फत् आफ्नो चौथो कार्यकाल सुरक्षित गर्ने दाउमा छन्।

नभाल्नीको समर्थनमा मस्कोमा आयोजित भेलामा पुगेकी बीबीसीकी सेराह रेन्सफोर्डका अनुसार नभाल्नीका समर्थकहरुले "उनी नै वास्तविक नेता" भएको र उनले "चुनाव लड्नैपर्ने" मत राखेका थिए।

पुटिन चाहिँ नभाल्नीको नाम समेत उच्चारण गर्न रुचाउँदैनन्।

पुटिनको पक्षमा ठूलो जनमत रहेको र उनले सहजै चुनाव जित्न सक्ने आकलन गरिएको छ।

पाँच वर्षअघि पुटिनविरुद्ध सडक प्रदर्शनहरु गरेका नभाल्नीले अनधिकृत रुपमा पुटिनविरोधी प्रदर्शनहरु आयोजना गरेको अभियोगमा यो वर्ष मात्रै तीन पटक कैद सजाय भोगिसकेका छन्।

सक्षम

नभाल्नी चाहिँ निष्पक्ष चुनाव हुन सकेमा आफू पुटिनलाई परास्त गर्न सक्षम रहेकोमा जोड दिन्छन्।

गत साता एपी समाचार संस्थासँगको अन्तर्वार्तामा उनले आफूलाई "चुनाव लड्न दिइएमा र प्रमुख सञ्चार माध्यम प्रयोग गर्न दिइएमा" आफू विजयी हुने बताएका थिए।

उनले एपीसँग भने, "पुटिनसँग भन्ने कुरा केही पनि छैन। उनी आफ्ना पुराना वाचा पूरा गर्न विफल भइसकेका छन्।"