काबुलः गुप्तचर कार्यालय नजिकै विस्फोट

  • 25 डिसेम्बर 2017
काबुल तस्वीर कपीराइट Reuters

राजधानी काबुलस्थित अफगानिस्तानको गुप्तचर निकायको परिसर नजिकै एउटा आत्मघाती विस्फोट गराइँदा कम्तीमा ६ जनाको ज्यान गएको छ।

घटनामा अन्य तीनजना घाइते भएका छन्।

गुप्तचर निकायका कर्मचारीहरु काम गर्न गइरहेका बेला पैदल रहेका आक्रमणकारीले विस्फोट गराएका थिए।

पीडित हुनेमा नजिकैबाट गुज्रिरहेको गाडीमा रहेका महिलाहरु पनि रहेका छन्।

जिम्मेवारी

समाचार संस्था रोयटर्सका अनुसार इस्लामिक स्टेट समूहले विस्फोटको जिम्मेवारी लिएको छ।

पछिल्ला महिनाहरुमा अफगानिस्तानमा बम विस्फोटका घटना बढेका छन्।

गत अक्टोबरमा एउटा शिया मस्जिदमा विस्फोट गराइँदा ३९ जना मारिएका थिए।

त्यसैगरी गत मेमा ग्रीन जोन भनिने कूटनीतिक क्षेत्रमा गराइएको ठूलो हमलामा १५० जनाभन्दा बढी मारिएका थिए।

अमेरिकी नेतृत्वको फौजले सन् २००१ मा तालेबानहरुलाई सत्ताबाट हटाएपछि अफगानिस्तानमा गराइएको सबभन्दा ठूलो हमला थियो।