‘कुलभूषण जाधवः परिवारले गरे भेट’

  • 25 डिसेम्बर 2017
जाधवको परिवारसंग भेट तस्वीर कपीराइट PAkistani Foreign Ministry

पाकिस्तानमा जासुसीको आरोपमा मृत्युदण्डको सजाय सुनाइएका भारतीय नागरिक तथा पूर्व नौसेना अधिकारी कुलभूषण जाधवलाई उनको परिवारका सदस्यहरुसँग भेट गर्न दिइएको छ।

उनलाई दिइएको मृत्युदण्डको फैसलाका कारण पाकिस्तान र भारतबीच उत्पन्न विवादका माझ सोमबार जाधवले पाकिस्तानी राजधानी इस्लामावादमा आफ्नी आमा र श्रीमतीलाई भेटे।

सन् २०१६ को मार्चमा पाकिस्तानले जाधवलाई बलोचिस्तानबाट पक्राउ गरेको बताएको छ। उनीमाथि लागेका आरोपहरु स्वीकार गरेको भन्दै पाकिस्तानले जाधवका केही भिडिओहरु पनि सार्वजनिक गरेको छ।

सो क्षेत्रमा पृथकतावादी विद्रोहीहरु सक्रिय रहँदै आएका छन् र ती विद्रोहीहरुलाई भारतले समर्थन गर्ने गरेको आरोप इस्लामावादले लगाउँदै आएको छ।

पाकिस्तानको सैन्य अदालतले जासुसी र उग्रवादी मामिलासंग जोडेर यसै वर्षको अप्रिलमा उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो।

तर भारतले भने उनी इरानमा हुँदा पाकिस्तानले उनलाई अपहरण गरेको र "बनावटी अभियोगहरु" मा उनीमाथि मुद्दा चलाएको तर्क प्रस्तुत गर्दै आएको छ।

भेट

तस्वीर कपीराइट .

सोमबारको भेटका क्रममा भारतीय कूटनीतिज्ञहरु जाधवकी आमा अवन्ती र श्रीमती चेतनकूलको साथमा थिए।

इस्लामावादस्थित पाकिस्तानी विदेश मन्त्रालयमा परिवारले जाधवसँग भेट गरेका थिए।

उनीहरु सोमबार साँझ नै दिल्ली फर्कंदै छन्।

सो भेट "मानवीयताका आधार" मा गर्न दिइएको पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैजलले बताए।

इस्लामावादस्थित बीबीसी हिन्दीकी संवाददाता शुमैला जाफरीले जाधवकी आमा र श्रीमतीलाई कडा सुरक्षाका माझ विदेश मन्त्रालयको कार्यालयमा ल्याइएको बताइन्।

उनले भनिन् - दुवै जना निकै गम्भीर देखिन्थे। पत्रकारहरुले उनीहरुलाई लक्षित गरी चिच्च्याई-चिच्च्याई प्रश्नहरु गर्दा पनि केही बोलेनन् र कार्यालयतर्फ अघि बढे।

को हुन् कुलभूषण जाधव?

- ४६ वर्षीय जाधव मुम्बईका बासिन्दा हुन्।

- उनी मुम्बई प्रहरीका सेवानिवृत्त अधिकारी सुधीर जाधवका छोरा हुन्।

- पूर्व नौसेना अधिकारी रहेका उनी नौसेनामा कैयौँ वर्षसम्म कार्यरत रहे।

- परिवारका अनुसार उनले नौसेनाको जागिर आफ्नै व्यवसाय शुरु गर्नका लागि छाडेका हुन् र उनले इरानको चाबहार बन्दरगाहमा काम गरिरहेको थिए।

कानुनी लडाईं

नेदरल्याण्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय आइसीजे मा पाकिस्तान र भारतले जाधवको विषयबारे कानुनी लडाईँ लडिरहेका छन्।

गत मे महिनामा अन्तर्राष्ट्रिय न्यायालयले भारतले दायर गरेको मुद्दाको सुनुवाई नसकुञ्जेल उनलाई दिइएको मृत्युदण्डको सजाय कार्यान्वयन नगर्नका लागि आदेश दिएको थियो।

तर जाधवलाई कहाँबाट हिरासतमा लिइएको भन्ने बारे दुवै पक्षले फरक-फरक बयानहरु पेश गरेका छन्।

दुवै छिमेकीहरुबीच कुटनीतिक विवादको लामो इतिहास छ र दिल्ली तथा इस्लामावाद सरकारले प्रायःजसो एक अर्काको भूभागमा गुप्तचरहरु पठाएको आरोप लगाउँछन्।

तर जासुसीको अभियोगमा मृत्युदण्ड भने बिरलै दिने गरेको पाइएको छ।

सम्बन्धित सामग्री