टेम्बिन आँधी दक्षिणी भियतनाम नजिक पुग्दा कमजोर

आँधी

तस्बिर स्रोत, EPA

दक्षिणी भियतनाममा त्रास फैलाइरहेको आँधी कमजोर बनेको छ र अबको ४८ घण्टाभित्र उक्त आँधी पूर्ण रुपमा मत्थर हुने ठानिएको छ।

यसअघि सोमबार मौसम पूर्वानुमान केन्द्रले आँधी २० सेन्टिमिटरसम्म वर्षा हुनसक्ने भन्दै लाखौं मानिसहरुलाई घर छोडेर अन्यत्र जाने तयारी गर्न भनिएको थियो।

तल्लो तटीय क्षेत्रमा रहेका करिब ७० हजार मानिसहरु अन्यत्र सरिसकेका छन्।

टेम्बिन नामको आँधीका कारण आएको बाढी र पहिरोमा परी फिलिपिन्समा कम्तीमा २४० जनाको ज्यान गएको छ।

क्षति

उद्धारकर्ताहरु हराइरहेका अन्य १ सय भन्दा बढी मानिसहरुलाई खोजिरहेका छन्।

मिन्डनाओ टापूको दक्षिणी भागमा पहिरोका कारण पुल र बाटोहरु भत्किएका अथवा बन्द भएका छन्।

त्यहाँ करिब हजार घरहरु क्षतिग्रस्त भएका छन् भने धान खेतहरु बाढीले बगाएका छन्।

फिलिपिन्स नियमितजसो विध्वंसात्मक आँधीको चपेटामा पर्दै आए पनि मिन्डनाओ खासै प्रभावित हुने गरेको थिएन।

दक्षिणी प्रान्तस्थित मत्स्य पालनका लागि प्रख्यात गाउँका मानिसहरु विभिन्न विद्यालयहरुमा सरेका छन् जहाँ अहिले बाढी पीडितहरु बसिरहेका छन्।