'बालबालिकालाई लेनदेनको विषय नबनाउ'

  • 28 डिसेम्बर 2017
सिरिया तस्वीर कपीराइट Reuters

सिरियाका लागि राष्ट्रसंघका विशेष दूतका सल्लाहकारले घेरबन्दीमा परेको राजधानी दमास्कसस्थित विद्रोही नियन्त्रित क्षेत्रमा उद्धारको प्रतिक्षामा बसिरहेका बालबालिकालाई लेनदेनको विषय बनाइएको हुनसक्ने भन्दै चिन्ता प्रकट गरेका छन्।

यान एगलान्डले पूर्वी गुटामा रहेका विद्रोहीहरुले बन्धक बनाइएका सरकारी कामदारको सट्टा गम्भीर रुपमा बिरामी भएका बालबालिकालाई सुरक्षित स्थानमा जान सहमति जनाएको आफूले बुझेको बीबीसीलाई बताए।

सिरियन अमेरिकन मेडिकल सोसाइटीले गुटाबाट मंगलबार चार जनाको र बुधवार राति १२ जनाको उद्धार गरिएको जनाएको छ।

उसले तत्कालै सहायताको खाँचो रहेका १३ जनालाई बिहीवार उद्धार गर्न लागिएको उल्लेख गरेको छ।

बन्धक

राजधानी दमस्कसको घेरबन्दीमा रहेको विद्रोही नियन्त्रित क्षेत्रका गम्भीर बिरामी परेका बालबालिकालाई त्यसरी प्रयोग गरिएको आफूले जानकारी पाएको राष्ट्रसंघका लागि सिरियाली विशेष दूतका सल्लाहकार यान एगलान्डले जानकारी दिएका हुन्।

उनका अनुसार बन्धक बनाइएका सरकारी कामदारको रिहाइसँग गम्भीर बिरामी बालबालिकाको उद्धारलाई सट्टापट्टा गर्न लागिएको छ।

उनी भन्छन्, "यदी बन्दीहरुसँग ६ जना बालबालिका साट्न खोजिएको हो भने त्यो राम्रो सहमति होइन, त्यो भनेको एउटा रस्साकस्सीमा बालबालिकालाई लेनदेनको विषय बनाइनु हो र त्यस्तो हुनु हुँदैन।"

तस्वीर कपीराइट ICRC

अघिल्लो हप्ता राष्ट्रसंघले स्वास्थ्य अवस्था गम्भीर रहेका झण्डै ५०० जनालाई तत्काले उद्धार गर्नुपर्ने आवश्यकता रहेको भन्दै पूर्वी गुटामा एम्बुलेन्स र सहायता निकायलाई पहुँच दिन सिरियाली सरकारसँग माग गरेको थियो।

ध्वस्त

सरकारी घेराबन्दी र बमबारीका कारण उक्त क्षेत्रका स्वास्थ्य पूर्वाधार ध्वस्त भएका छन्।

त्यस क्षेत्रमा स्वाथ्य सामाग्रीको चरम संकट रहेको छ।

त्यहाँ करिब १ लाख ३० हजार बालबालिका र २ लाख ७० हजार वयस्कलाई सेवा पुर्याउन १०७ जना मात्रै चिकित्सकहरु बाँकी छन्।

हालै राष्ट्रसंघले त्यस क्षेत्रमा कुपोषणबाट ग्रस्त ५ वर्षमुनीका बालबालिकाको संख्या बढेर ११.९ प्रतिशत पुगेको जनाएको थियो।

उक्त अनुपात गएको ज्यानुअरीमा सार्वजनिक विवरण भन्दा पाँच वा ६ गुणाले बढी हो र सन् २०११ मा द्वन्द्व शुरु भए यताकै उच्च हो।