राष्ट्रिय सभा सम्बन्धी अध्यादेश जारी

  • 29 डिसेम्बर 2017
राष्ट्रपति भण्डारी
Image caption राष्ट्रिय सभा गठनका लागि कुन प्रणाली मान्ने भन्ने विवादका कारण अध्यादेश राष्ट्रपति कार्यालयमा लामो समयदेखि अड्किएको थियो

राष्ट्रपति विद्या देवी भण्डारीले अन्ततः राष्ट्रिय सभा चुनावसम्बन्धी अध्यादेश जारी गरेकी छिन्।

लामो समयदेखि रोकिएको उक्त अध्यादेशमा राष्ट्रपति भण्डारीले अघि बिहान करिब ११ बजेतिर हस्ताक्षर गरेको उनका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले बीबीसीलाई बताए।

उनले भने, "राष्ट्रपतिले अध्यादेशमा दलहरुको सहमति कुरिरहनुभएको थियो। उक्त अध्यादेशलाई उहाँले आजै जारी गर्नुभएको छ।"

राष्ट्रिय सभा गठनका लागि एकल संक्रमणीय वा बहुमतीय प्रणाली मान्ने भन्ने विवाद दलहरुबीच जारी रहँदा अध्यादेश राष्ट्रपति कार्यालयमा लामो समयदेखि अड्किएको थियो।

दबाब

उक्त अध्यादेश चुनाव अगावै माओवादीसहितको नेपाली कांग्रेस नेतृत्वको सरकारले राष्ट्रपतिलाई पठाएको थियो।

प्रदेश तथा प्रतिनिधि सभा चुनाव लगत्तै राष्ट्रिय सभा चुनावसम्बन्धी सरकारले पठाएको अध्यादेश जारी गर्न भन्दै सत्तारुढ दल नेपाली कांग्रेसले दबाब दिँदै आएको थियो।

विपक्षी दल एमालेले भने एकल संक्रमणीय नभइ बहुमतीय प्रणाली अनुसार राष्ट्रिय सभा हुनुपर्ने भन्दै सरकारले प्रस्तुत गरेको अध्यादेशमा विरोध जनाउँदै आएको थियो।

अध्यादेशसम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको भोलिपल्ट राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेकी हुन्।

योसँगै अब राष्ट्रिय सभा चुनावका लागि बाटो खुलेको बताइएको छ।