'वाम गठबन्धन भत्कन दिंदैनौं'

  • 30 डिसेम्बर 2017
विमोचन

वाम गठबन्धनका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्षस्थ नेताहरुले उनीहरुको 'गठबन्धन विरुद्धका प्रयासहरु' सफल हुन नदिने जनाएका छन्।

राजधानी काठमाण्डूमा एमाले उपाध्यक्ष वामदेव गौतमको पुस्तक विमोचन कार्यक्रममा उक्त दलका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्यस्तो धारणा राखेका हुन्।

तर उनीहरुले कसबाट ती प्रयास भएको भन्नेबारे चाहिँ प्रष्ट खुलाएनन्।

नयाँ सरकार पनि आफूहरु मिलेरै बनाउने ती दुवै नेताले बताए तर चर्चा गरिए अनुसार त्यो, पार्टी एकता अघि वा पछि हुन्छ भन्ने बारे उनीहरुले मुख खोलेनन्।

आशंका

पार्टी एकता प्रक्रियाबारे अन्योल लम्बिदैं गएपछि र अन्य दलसँग मिलेर सरकार गठनको प्रयासहरु समेत भइरहेको भन्ने चर्चाबीच गठबन्धनमा चिरा परेको हुनसक्ने आशंका भएका थिए।

एमाले उपाध्यक्ष गौतमको पुस्तक विमोचन कार्यक्रमलाई एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त रुपमा त्यस्ता आशंकाको खण्डन गर्ने मौकाको रुपमा प्रयोग गरेको देखियो।

गठबन्धन टुटाउने प्रयास भइरहेको भन्दै ओलीले त्यो सफल हुन नदिने टिप्पणी गरे।

उनले भने, ''एउटा लोकतान्त्रिक पार्टीले उहाँ (प्रचण्डलाई) प्रस्ताव गर्छ, 'तपाईँ पाँच वर्ष प्रधानमन्त्री बन्नुस, जे गर्नुहुन्छ गर्नुस्, हामी समर्थन गर्छौं !' यस्तो प्रस्ताव उहाँलाई माया गरेर भनेको वा देश बनाउन खोजेर गरेको होइन। यो त बिथोल्न खोजेको हो। यस्ता थुप्रै प्रयास भएका छन् तर काम लाग्दैनन्।''

भ्रम

ओली अघि बोलेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि गठबन्धन भत्काउने प्रयास भएको धारणा राखेका थिए।

उनले भने, ''थुप्रै भ्रमहरु सिर्जना गर्ने कोसिस भएका छन्, थुप्रै द्विविधा उत्पन्न गर्ने कोसिस भएका छन् तर हामी सुशासन, स्थायित्व र समृद्धितिर अगाडि बढ्छौं।''

नयाँ सरकार गठन वा पार्टी एकता मध्ये कुन पहिलो प्राथमिकता हो भन्नेबारेमा पनि दुवै नेता मौन रहे।

यसअघि एमाले र माओवादी केन्द्रका नेताहरुबाट सरकार र पार्टी एकताको क्रम तथा त्यसको नेतृत्वको स्वरुप लगायतबारे परस्परविरोधी धारणा सार्वजनिक भएका थिए।

तर केही दिनमै पार्टी एकता संयोजन समितिले विधिवत् रुपमा एकीकरण प्रक्रियाबारे छलफल थाल्ने भनिएपनि त्यो अझै शुरु हुन सकेको छैन।