इरानमा मोबाइल फोन एपमाथि नियन्त्रण

  • 31 डिसेम्बर 2017
इरानी प्रदर्शनकारी तस्वीर कपीराइट EPA

इरानमा तीन दिनदेखि सरकार विरोधी प्रदर्शन जारी रहेपछि अधिकारीहरुले सामाजिक सन्देश प्रवाह गरिने मोबाइल फोन एपमाथि नियन्त्रण गर्न थालेका छन्।

इरानी अधिकारीहरुले हिंसा भड्काउन प्रयोग गरिएको भन्दै टेलिग्राम नामक मोबाइल फोन एपलाई पहिलो निशाना बनाएका छन्।

इरानी अधिकारीहरुले मोबाइल फोन एप टेलिग्रामको प्रयोगमा कडाइ गरेपनि टेलिग्राम व्यवस्थापनले आफ्नो बचाउ गरेको छ।

त्यसअघि उसले आफ्नो एप शान्तिपूर्ण सन्देश आदानप्रदानको लागि मात्र प्रयोग भएको भन्दै त्यसलाई बन्द गर्न अस्वीकार गरेको थियो।

विरोध

सुरुमा जनजीविका र अर्थतन्त्रका मुद्दामा केन्द्रित भएपनि तेस्रो दिनपछिका विरोध प्रदर्शनमा इस्लामी धर्मगुरुको शासनको विरोधमा आवाजहरु बुलन्द भएका छन्।

त्यसपछि इरानको सर्वोच्च नेता निकटको 'रेभोल्युशनरी गार्ड्स्' भनिने सुरक्षा बलले सरकारविरोधी प्रदर्शनहरु नरोकिएमा प्रदर्शनकारीविरुद्ध आफू खरो रुपमा उत्रिने चेतावनी दिएको छ।

राजधानी तेहरान र अन्य शहरमा प्रदर्शनहरु थप चर्किएपछि त्यस्तो चेतावनी दिइएको हो।

बीबीसी पर्सीयनका एक पत्रकार भन्छन्, प्रहरी निकै संयमित भइरहेको छ।

इरानका ठूलादेखि साना शहरमा जारी प्रदर्शनहरुमा मानिसहरुले मुसलमान धर्मगुरुकै विरोधमा आवाज उठाइरहेका छन्।

आक्रमण

प्रदर्शनकारीले राजधानी लगायतका केही स्थानमा सरकारी भवनहरुमा आक्रमण गरेको खबर छ।

दोरुड नगरमा दुई जना प्रदर्शनकारीको ज्यान गएको बताइएको छ।

इरानबारेको पछिल्लो ट्वीटर सन्देशमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दमन गर्ने सरकारहरु सधै टिक्न नसक्ने प्रतिक्रिया दिएका छन्।