दुई कोरियाबीच वार्ता गर्न 'हटलाइन'

  • 3 जनवरी 2018
दुई देशबीचको हटलाइन तस्वीर कपीराइट EPA

उत्तर कोरियाले राष्ट्रपति किम जङ अनको आदेशपछि लगभग दुई वर्ष बन्द गरिएको दक्षिण कोरियासँगको हटलाइन पुन: खोलेको छ।

दक्षिण कोरियाका एकता मामिला हेर्ने मन्त्री चो म्युङ ग्युनले भनेका छन्, "बुधबार उत्तर कोरियाले स्थानीय समय अनुसार ३ बजेर ३० मिनेटमा फोन गरी दुई देशबीचको हटलाइन पुन: खुलाएको हो।"

उत्तर कोरियाका एक अधिकारीले हटलाइन पुन: खोलिएको घोषणा टेलिभिजनमार्फत् गरेका थिए।

दक्षिण कोरियाका राष्ट्रपतिले उक्त हटलाइन पुनः खोल्ने कदम एकदमै महत्वपूर्ण उपलब्धि भएको र यसले सधैँ आपसी सञ्चार गर्न संभव हुने वातावरण बनाउने उल्लेख गरेका छन्।

यसअघि उत्तर कोरियाका नेता किमले नयाँ वर्षको पूर्वसन्ध्यामा गरेको सम्बोधन सोलसँग वार्ता गर्न र आफ्नो देशको टोली अर्को महिना दक्षिणमा हुने हिउँदे ओलिम्पिक्समा भाग लिन पठाउन आफू तयार भएको बताएका थिए ।

यी दुई देशहरूले २०१५ डिसेम्बरपछि उच्चस्तरीय वार्ता गरेका छैनन्।

त्यो वार्तालगत्तै उत्तर कोरियाले दुई देशबीचको सञ्चार प्रणाली काटेको र आफूहरूले फोन सम्पर्क गर्दा जबाफ नदिएको दक्षिण कोरियाका अधिकारीहरूले बताए।

प्रस्ताव

उत्तर कोरियाको प्रतिनिधिमण्डललाई 'हिउँदे ओलिम्पिक्स्'मा सहभागी गराउन दक्षिण कोरियाको प्युङ्चाङ् पठाउने प्रस्तावसँग सम्बन्धित व्यावहारिक पक्षबारे दुई देशले फेब्रुअरीमा छलफल गर्ने ती अधिकारीले बताए।

दक्षिण कोरियाको योन्हाप समाचार संस्थाले अधिकारीलाई उद्धृत गर्दैभनेको छ, "उत्तर कोरियासँग हामी इमान्दार भएर निष्ठापूर्वक सम्पर्क गर्नेछौँ ।" उनका अनुसार प्रतिनिधिमण्डल पठाउने सम्बन्धमा व्यावहारिक विषयवस्तुमा छलफल गरिनेछ।

नयाँ वर्षको सम्बोधनमा राष्ट्रपति किमले 'हिउँदे ओलिम्पिक्स्'को सहभागिता दुई देशका जनताबीचको एकता भएको प्रदर्शन गर्ने राम्रो अवसर भएको बताएका थिए। दक्षिण कोरियाले उत्तरको सहभागितालाई स्वागत गर्न तत्परता देखाइसकेको छ र उच्चस्तरीय वार्ता गर्न सोमवार प्रस्ताव गरिसकेको छ।

अविश्वास

उत्तरले उक्त प्रताव स्वीकार्ने हो या होइन त्यो भने अझै स्पष्ट भइसकेको छैन। तर दुई देशबीचको टेलिफोन सम्पर्क स्थापनाले प्रारम्भिक छलफल गर्ने बाटो खुलेको छ।

पत्रिकाहरूमा भने किमको नयाँ वर्षको सम्बोधनप्रति केही अविश्वास देखिएको छ। दैनिक पत्रिका ज्युङ्आङ् इल्बोले किमको सम्बोधन दक्षिण कोरियाको आन्तरिक विभाजन चर्काउन सोचविचार गरेर चालिएको कदम हुनसक्ने आशंका गरेको छ।

हाङ्कियोरा पत्रिकाले पनि सचेत हुनुपर्ने जनाएको छ। उक्त पत्रिकाले पारमाणविक अस्त्रबारे किम आफ्नो "पुरानो दुस्साहसी र कडा अडान"बाट एक इन्चपनि तलमाथि नभएको र उनको सम्बोधनले शान्तिको ढोका भने खोल्न सक्ने उल्लेख गरेको छ।