ब्याननले मानसिक सन्तुलन गुमाए: ट्रम्प

  • 4 जनवरी 2018
ट्रम्प तस्वीर कपीराइट Reuters

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्वप्रमुख रणनीतिकार स्टिभ ब्याननको निन्दा गर्दै ह्वाइट हाउसबाट बर्खास्त गरिँदा उनले मानसिक सन्तुलन गुमाएको बताएका छन्।

हालै एउटा पुस्तकमा ब्याननलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पका छोरा डोनल्ड जुनिअर र एउटा रुसी समूहबीच अमेरिकी राष्ट्रपति चुनावको अभियानका क्रममा भएको भेटवार्ता 'देशद्रोहपूर्ण' र 'मुलुकविरोधी' भएको उल्लेख गरिएको थियो।

एउटा विज्ञप्तिमा राष्ट्रपति ट्रम्पले ब्याननसँग आफ्नो वा आफ्नो पदको केही लिनुदिनु नरहेको र उनले ह्वाइट हाउसमा रहँदा आफूलाई महत्वपूर्ण व्यक्तिका रूपमा देखाउन सञ्चारमाध्यमहरूलाई सूचना चुहाएको बताएका छन्।

ट्रम्पले रुसी अधिकारीसँग साँठगाँठ रहेको भन्ने आरोप सार्वजनिक रूपमा नै अस्वीकार गर्दै आएका छन् र त्यस विषयमा एउटा विशेष संयन्त्रले अनुसन्धान गरिरहेको छ।

समाप्त

वाशिङटनबाट बीबीसीका एन्थोनी जर्चर भन्छन् -"डोनल्ड ट्रम्प आंशिक रूपमा स्टिभ ब्यानन र उनको पुरातनवादी सञ्चारमाध्यम ब्राइटबार्टको काँधमा चढेर राष्ट्रपति बनेका थिए। तर अब उनीहरूसँग ट्रम्पले कसरी लडाईं गर्छन् त्यो सबैले देख्नेछन्।"

ब्याननका टिप्पणीमाथि राष्ट्रपति ट्रम्पले दिएको प्रतिक्रियाले एउटा नेता र उसको सैद्धान्तिक मार्गनिर्देशकबीचको सम्बन्ध समाप्त भइसकेको सङ्केत गर्छ।

तर ट्रम्पका आम समर्थकहरूले यसमा कसरी प्रतिक्रिया जनाउलान्? जे जस्तो भएपनि ट्रम्पमाथि उनीहरूको लगावप्रति प्रश्न उठाउनु बुद्धिमानी हुँदैन।

लडाईंको परिणाम जे भएपनि यसलाई व्यक्तिगत रूपमा भएको ब्याननको भयानक विफलतासँग जोडेर हेरिनुपर्छ।"

आसीन

तस्वीर कपीराइट AFP/Getty Images

"वर्षौसम्म संस्थापनविरोधी परम्परागत 'लोकप्रियतावाद'को प्रवर्धन गरेका उनी शक्तिको पदमा आसीन भएका थिए।

तर उनी अहिले सत्ताभन्दा बाहिर छन् र लामो समयदेखिका उनका प्रतिद्वन्द्वी र पूर्वसाझेदारहरूको घेराबन्दीमा परेका छन्।

राष्ट्रपति ट्रम्पले व्यापारीहरूको स्वार्थ पूर्ति गर्ने खालको करसम्बन्धी कानूनमा हालै हस्ताक्षर गरेका छन्।

त्यसबाहेक सन् २०१६ यताको महत्वपूर्ण चुनावमा अलाबामा राज्यको सिनेट सदस्यको निर्वाचनमा लाजमर्दो पराजय समेत ब्यहोरेका छन्।

सम्भवत: यी सबै कारणले ब्यानन र ट्रम्पबीचको झगडा अवश्यम्भावी थियो र यो थप चर्कने लगभग निश्चित छ।"