'ट्रम्प केटाकेटी जस्ता छन्'

  • 5 जनवरी 2018
डोनल्ड ट्रम्प तस्वीर कपीराइट Getty Images
Image caption सो विवादास्पद पुस्तकले राष्ट्रपति ट्रम्पलाई आक्रोशित तुल्याएको छ

राष्ट्रपति ट्रम्पसम्बन्धी एउटा विवादास्पद पुस्तकका लेखकले उनी केटाकेटी जस्तो भएको र आफ्नो पुस्तकमा उल्लेखित सबै विषय सही भएको दावी गरेका छन्।

शुक्रबार प्रकाशित एउटा विवादास्पद पुस्तकका लेखकले ७१ वर्षीय अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प केटाकेटी जस्तो भएको र आफुले भनेको कुरा तत्काल पुरा गरिनुपर्ने उनको बानी रहेको बताए।

अमेरिकी टेलिभिजन नेटवर्क एनबीसी न्युजसँग कुरा गर्दै माइकल वुल्फले आफुले ट्रम्पसंग तीन घन्टा कुरा गरेको दावी गरे।

तर ट्रम्पले उनीसँग पुस्तकमा छाप्न भनेर आफुले कुरा नगरेको बताएका छन्।

आक्रोशित

सो विवादास्पद पुस्तकले राष्ट्रपति ट्रम्पलाई आक्रोशित तुल्याएको छ।

उनको प्रशासनका बारेमा लेखिएको उक्त पुस्तक पहिलो पटक हात पार्न ग्राहकहरु राजधानी वासिङगटनमा बिहीबार मध्यरातसम्म लाइनमा बसेका थिए।

कानूनी कारवाहीको धम्कीको बेवास्ता गर्दै प्रकाशकले 'फायर एण्ड फ्युरी' शीर्षकको सो पुस्तक पूर्वनिर्धारित समयभन्दा चारदिन अघि नै बजारमा ल्याएका छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पले उनको प्रशासनबारे लेखिएको र भर्खरै प्रकाशित सो पुस्तकलाई 'झुटहरूले भरिएको' भन्दै खारेज गरीदिएका छन्।

लेखक वुल्फलाई आफूले कहिल्यै ह्वाइट हाउसमा प्रवेश नदिएको राष्ट्रपति ट्रम्पको भनाइ छ।

प्रश्न

तस्वीर कपीराइट Getty Images
Image caption लेखक माइकल वुल्फले आफुले ट्रम्पसँग तीन घन्टा कुरा गरेको दावी गरेका छन्

स्थानीय समय अनुसार शुक्रबार बिहान एउटा टेलिभिजन अन्तर्वार्तामा लेखक वुल्फले आफू त्यहाँ नआओस् भन्ने राष्ट्रपति ट्रम्पले चाहेको भए किन महिनौंसम्म उनले आफूलाई पहुँच दिए भनी प्रश्न गरे।

उनले आफूसँग ह्वाइट हाउसमा भएका संवादको रिकर्डिङ र नोट समेत रहेको बताए।

उनले आफ्नो दावी दोहर्याउँदै भने, "जो राष्ट्रपति ट्रम्पको आसपास छन् उनीहरु सबै समयक्रमसँगै एउटा निष्कर्षमा पुगेका छन् कि उनी राष्ट्रपति पदका लागि उपयुक्त छैनन्।"

प्रयास

माइकल वुल्फको ‟फायर एण्ड फ्युरी: इन्साइड द ट्रम्प ह्वाइट हाउस" नामक पुस्तकको प्रकाशन ह्वाइट हाउसका वकिलहरूले रोक्ने प्रयास गरेपछि पूर्वनिर्धारित मितिभन्दा ४ दिन अगाडि शुक्रबार प्रकाशित भएको हो।

पुस्तकमा ट्रम्पको नेतृत्वविरुद्ध गम्भीर आरोपहरू लगाइएको छ।

संचारमाध्यममा प्रकाशित पुस्तकांशमा राष्ट्रपति ट्रम्पलाई 'मानसिक रूपमा असन्तुलित र असक्षम' भनेर चित्रण गरिएको छ।